५ जेष्ठ २०८१, शनिबार

आजदेखि मेलम्चीकाे पानी बन्द

melamchi

काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ ।

आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । गेट नम्बर – ९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ । त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको हो । यस्तै गेट नम्बर – १ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए । गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो ।

ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो । मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।

मेलम्चीको पानी सुरुङमार्फत पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा आइपुगेको थियो । सोहो वर्षको चैत १५ देखि मेलम्चीको पानी परीक्षण वितरणस्वरुप काठमाडौं उपत्यकाबासीको धारामा वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति भएको थियो ।

बाढीले क्षति पुगेपछि मर्मत गरी मेलम्चीको पानी २०७८ चैत अन्तिममा दोस्रोपटक काठमाडौं ल्याइएको थियो । निर्माण सुरु भएको करिब २२ वर्षमा मेलम्चीको पानी काठमाडौं आइपुगेको थियो ।

    सम्बन्धित समाचार...