१३ बैशाख २०८१, बिहीबार

मोबाइल फोन बन्द गरेर गायब मञ्जु, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

Manju

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको २ दिन भएको छ । तर, उनकी पत्नी मञ्जु खाण अझै पनि उनलाई भेट्न पुगेकी छैनन् । बालकृष्ण पक्राउ पर्नुअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन् ।

नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत रहेकी उनी संसदमा जारी सरकारका सिद्धान्त तथा नीतिमाथिको बहसमा सहभागी हुन पनि गएकी छैनन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोलीले बालकृष्णलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन् ।

बरु प्रहरीले पक्राउ गर्नुअघि बालकृष्ण फोनमा व्यस्त थिए । अर्थात् मंगलबार नै पक्राउ पर्ने संकेत पाइसकेका बालकृष्ण र मञ्जु मैजुबहालमा सँगै थिएनन् ।

श्रीमान्‌लाई प्रहरीले हिरासतमा थुनिरहँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएकी मञ्जुको लोकेशनबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ ।

उक्त अडिओबारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। करिब २० मिनेटको भनिएको उक्त अडिओको वास्तविकतामाथि प्रहरीले छानबिन गरिरहेको छ ।

काठमाडौँ परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए । बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौँ परिसर पुगे । उनीहरुले बुधबार र बिहीबार दुवै दिन बालकृष्णका लागि खाना लिएर पुगेका थिए ।

त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण पनि बालकृष्णलाई भेट्न काठमाडौँ आइसकेका छन् ।

बुधबारदेखि नै नातेदार, कार्यकर्ता र शुभेच्छुकहरु बुधबारदेखि नै परिसरमा जम्मा भएका थिए। बिहीबार पनि बिहानैदेखि उनीहरुको भीड परिसरमा थियो । तर, मञ्जु दुवै दिन त्यहाँ देखिइनन् ।

पक्राउ परेदेखि प्रहरीले बालकृष्णलाई मोबाइल फोन प्रयोग गर्न दिएको छैन । उनलाई अन्य थुनुवासँग राखिएको छैन। प्रहरीले अरुलाई जसरी हत्कडी पनि लगाएको छैन ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका बालकृष्णले नक्कली शरणार्थी प्रकरणमा रकम लेनदेन गरेको प्रमाण भेटिएको जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा सचिव पाण्डेलाई उनले पठाएको एक एसएमएसमा आफ्ना निजी सहयोगी नरेन्द्र केसीलाई ५ लाख रुपैयाँ दिनु भनेको प्रमाण पनि भेटिएको प्रहरीले जनाएको छ ।

मञ्जुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छैन । तर, उनी दुई दिनदेखि गायब छिन् ।

बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा घरमा मञ्जु थिइनन् ।

बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै थिए । अहिले उनको मोबाइल फोनसमेत बन्द छ। उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ ।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो ।

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो । उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले पति बालकृष्ण र प्रहरीको पनि सम्पर्कबाहिर रहेकी हुन् ।

हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ । पछिल्लो पटक खाँण समातिएका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ। तर यतिका समय बित्दा पनि पतिको अवस्थाबारे जानकारी लिन मञ्जुले प्रहरीसँग पनि सम्पर्क नगरेको स्रोतले जनाएको छ ।

    सम्बन्धित समाचार...