४ बैशाख २०८१, मंगलवार

गृहमन्त्रीका लागि पैसा लिएको सचिव पाण्डेको बयान

tek narayan

अहिलेसम्मको अनुसन्धानमा पूर्वगृहमन्त्री बालकृष्ण खाणले एक करोड २४ लाख ५० हजार लिएको खुलेको छ

भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरी हिरासतमै रहेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूसँग पूर्वगृहमन्त्री बालकृष्ण खाणको आर्थिक लेनदेन भएको स्वीकार गरेका छन् ।

सुरुमा इन्कारी बयान दिएका उनले ततिम्बा बयानमा भने आर्थिक लेनदेन भएको, तर त्यो आफ्ना लागि नभई तत्कालीन मन्त्री खाणलगायतका लागि भएको दाबी गरेका छन् ।

अहिलेसम्मको अनुसन्धानमा मन्त्री खाणले एक करोड २४ लाख ५० हजार लिएको खुलेको छ । पक्राउ परेका बिचौलिया सानु भण्डारीले बयानमा सो कुरा बताएकोमा सचिव पाण्डेले पनि त्यसलाई पुष्टि हुने गरी बयान दिएका छन् ।

पक्राउ पर्ने भएपछि सचिव पाण्डेले आफ्नो मोबाइल फर्म्याट गराएका थिए । जुन मोबाइलका डेटा रिकभर गरेपछि थप प्रमाण खुलेका हुन् । उनको बिचौलिया तथा मन्त्री खाणसँग भएको बयानमा आर्थिक लेनदेनका कुरा भेटिएपछि प्रहरीले ततिम्बा बयान गराएको थियो ।

अनुसन्धानका विषयमा नयाँ कुरा खुलेपछि प्रहरीले एकपटक ततिम्बा बयान गर्न पाउँछ । जुन बयानमा उनले लेनदेनका कुरा स्वीकार गरी मन्त्री खाणकै निर्देशनअनुसार आफूले ती काम गरेको बताएका छन् ।

जसले खाणविरुद्ध पनि प्रमाण बलियो भएको छ । यिनै प्रमाण रहेको थाहा पाएपछि खाणलाई पक्राउ गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पनि असहमति नजनाएको स्रोत बताउँछ ।

    सम्बन्धित समाचार...