२ जेष्ठ २०८१, बुधबार

प्रतिनिधिसभा बैठकमा राप्रपाको विरोध

rrp

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ ।

बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए ।

उनले आफ्नो कुराहरु शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपछि सभामुखले राप्रपाको बिरोधका बाबजुद शून्य समयको लागि बोल्न सांसद बिमला सुवेदीलाई समय उपलब्ध गराएका थिए । लगत्तै राप्रपा सांसदहरुले बेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो ।

सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गरिरहेका छन् ।

तर, सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेरेका हुन् ।

राप्रपा सांसदले बैठक सञ्चालनमा अवरोध गरेपछि अहिले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

    सम्बन्धित समाचार...