४ जेष्ठ २०८१, शुक्रबार

बयान फेर्न लगाउन राजनीतिक दबाब

top indra teknaryan niraj

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ। नेपाली कांग्रेसका केही नेताले पक्राउ परेकाले दिएको बयान फेर्न प्रहरीलाई दबाब दिन थालेका हुन्।

प्रहरीका अनुसार मंगलबारसम्म नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहका १० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। पक्राउ परेका गिरोहका ती सदस्यलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। उनीहरूले यो प्रकरणमा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको बयान दिएका छन्। राजनीतिक दलका नेतालाई मुछेर दिइएको बयान फेर्न राजनीतिक तहबाट दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भनेनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको छानबिन प्रभावित पार्न कतैबाट दबाब आए त्यसको बेवास्ता गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्। ‘राजनीतिक दबाब थेग्न नसके अनुसन्धानमा असर पर्छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूको बलियो साथ भए मात्रै अनुसन्धान गर्ने प्रहरीको आत्मबल बढ्नेछ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। ती अधिकारीका अनुसार बयान परिवर्तन गर्न राजनीतिक दबाब आउन थालेकाले अनुसन्धान प्रभावित हुनसक्छ।

प्रहरीले अहिलेसम्म नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहमा संलग्न भएको आरोपमा पक्राउ गरिएका मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग बयान लिइसकेको छ। उनीहरूले यो धन्दामा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको बयान दिएका छन्। यही बयान फेर्न प्रहरीलाई राजनीतिक तहबाट दबाब दिइन थालेको हो। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...