२४ बैशाख २०८२, बुधबार

पूर्वमन्त्री रायमाझीलाई पक्रन देशभर पत्राचार

Top Bahadur Rayamajhi

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला परिसर काठमाडौँले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

काठमाडौँ जिल्ला आदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका छन् । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।

गत बुधबार पक्राउ पुर्जी जारी भएपछि रायमाझीले काठमाडौँ पुगेर अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए । तर, त्यसै साँझदेखि उनी मोबाइल बन्द गरेर भागेका हुन् । प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै फोन गरेर आफैँ उपस्थित हुने बताएपछि उनलाई पक्राउ गर्न खटिएको प्रहरी पनि फिर्ता भएको थियो ।

काठमाडौँ प्रहरी परिसरले रायमाझीलाई बुटवलबाटै पक्राउ गर्ने तयारी थियो । तर, काठमाडौँ ओर्लिनासाथ पक्राउ गर्ने बुझेपछि रायमाझी साँझबाट सम्पर्कविहीन भएका थिए । उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट त्यसैदिन पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र टंक गुरूङ पनि थुनामा छन् ।

यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छोडेको छ । सोमबार अपरान्ह काठमाडौँ प्रहरी परिसरमा पुगेका खाडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरीले जनाएको छ ।

खाणले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...