
प्रि–बजेटमाथि छलफल गर्न बसेको संसद बैठकमा विभिन्न फण्डाले तताइरहेको छ । नेपालको राजनीतिक इतिहासमा हालसम्म नदेखिएको दृष्य पनि आजको संसद बैठकमा देखियो । आफूले बोल्न नपाएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंह अर्धनग्न बने । उनले आफ्नो माथिका सबै लुगा फुकाले र दुनियाँलाई रमिता देखाए । अर्धनग्न हुनैपर्ने खासकारण नहुँदा पनि उनको चर्तिकलाले उनको स्वभावलाई उदांगो बनाइदिएको छ ।
यो अशिष्ट हर्कतका बाबजुद केही सांसदले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका थिए। यस्तो कटाक्ष गर्नेमध्ये एक थिए रास्वपा सांसद असिम शाह। पेशाले फिल्म निर्देशक र निर्माता समेत रहेका शाहले संसदमा पहिलोपटक बोल्दा पनि फिल्मकै सन्दर्भअनुसार बोल्नुभएको थियो। आजको प्रतिनिधिसभा बैठकमा सांसद शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गर्नुभएको छ।
रास्वपाकै सांसद रवि लामिछानेले पनि नक्कली भुटानी शरणार्थी बनाइएको विषयलाई आफ्नो पार्टीले गम्भीरताका साथ हेरेको बताउनुभयो। अन्तर्राष्ट्रिय जगतमा बदनियत भएको बताउँदै उहाँले ताप्केको बिँड सेलाएजस्तै यो प्रकरण सेलाउन नहुने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरू बेच्न संलग्नहरूलाई दूधको दूध र पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने बताउनुभयो । केसीले विगतको उदाहरण दिँदै यस्ता घटनामा सदन केही दिन तातेपनि पछि अर्को प्रकरण आउने र त्यसै सेलाउने गरेको भन्दै यो पटक त्यस्तो हुन नहुनेमा जोड दिनुभयो ।
कांग्रेस सांसद अर्जुननरसिंह केशीले भ्रष्ट्राचारमा संलग्न भनिएका कसैलाई पनि छोड्न नमिल्ने अडान लिनुभयो । संसारका विभिन्न व्यक्तिको उदाहरण दिँदै उहाँले अहिलेको यो काण्डमा छानबिन गर्ने व्यक्तिको पनि कहीँकतै नाम आएकोले भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।
यो मुलुकमा विभिन्न कालखण्डमा धेरै ठूला भ्रष्ट्राचार भएका घटनाहरु सार्वजनिक हुने गरेका छन् । सुडान घोटाला, ललिता निवास प्रकरण, बाइडबडी काण्ड, साउथ चाइना घोटाला, मातातीर्थ घोटाला, लडाकू शिविर घोटालालगायत कैयौँ क्षेत्रमा भ्रष्ट्राचार भएका छन् । यो देशमा भीभीआइपी फस्ने खतरा भयो भने हिलोमाथि पानी छ्याप्ने प्रकरण व्याप्त रहेकोले यो भन्दा माथि उठेर दोषीलाई कानूनी दायरामा ल्याउनु आजको आवश्यकता हो ।