२२ बैशाख २०८२, सोमबार

नक्कली शरणार्थी प्रकरण: ३ जनाको बयान सुरु, थप ७ जना अनुसन्धानमा तानिँदै

top indra teknaryan niraj

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएको कार्यदलका सदस्यहरुको बयान सुरु भएको छ। काठमाडौं प्रहरी परिसरले कार्यदलका संयोजक बालकृष्ण पन्थीको बयान आइतबार लिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै राज्य संयत्रबाटै नागरिकबाट रकम असुल गरेको घटनाको अनुसन्धान कहाँसम्म पुग्ला ? भन्ने आम चासो छ । एक त नेपालीलाई भुटानी बनाउने र त्यसमा पनि गृह मन्त्रालयका सबै संयन्त्र प्रयोग गर्नेहरु को–को हुन् भन्ने अनुसन्धानको मूल विषय हो । वहालवाला सचिवसहित ८ जना प्रहरी हिरासतमा पुगिसकेका छन् । यसको जालो यतिमै सकिन्छ कि अनुसन्धानमा अन्य पनि तानिन्छन् ? अबको प्रश्न त्यही हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहविरुद्ध प्रहरीले गरिरहेको अनुसन्धानले ४५ दिन पूरा गरेको छ । संगठित अपराध भएकाले ६० दिनभित्र अदालतमा मुद्दा पेस गर्नुपर्नेछ । वहालवाल सचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकारसमेत रहेका इन्द्रजित राईसहित ८ जना हिरासतमा छन् । तर यो फेहरिस्त यतिमै सकिने देखिँदैन । सचिव पाण्डेको बयान लिइरहेको प्रहरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको खोजीमा छ । त्यसो भए सचिव पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार बाहेक नक्कली शरणार्थी प्रकरणमा को–को अनुसन्धानको दायरामा आउन सक्छन् भन्ने प्रश्न बाँकी नै छ ।

२०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईको पालामा भुटानी शरणार्थी समस्याको दीर्घकालीन समस्या समाधानको उपाय पहिल्याउन कार्यदल गठन भएको थियो । जुन कार्यदलमा राखिएका मन्त्रालयका शाखा अधिकृतबाहेक पूर्वसहचिव बालकृष्ण पन्थी र विज्ञ भनिएका गणेशबहादुर केसी विचौलियाको चयनमा आएका व्यक्तिहरु हुन् । मन्त्रालयका तत्कालीन शाखा अधिकृत दिपकप्रसाद न्यौपानेको सरुवा भएपछि सचिव राईले अर्का अधिकृत नपठाउनुले गिरोहकै योजनामा समिति बनेको देखिएकाले तत्कालीन गृहमन्त्री थापामाथि पनि अनुसन्धान सोझिएको छ ।

आरजू र खाँण पनि शंकाकाे घेरामा

राईपछि सचिव बनेर आएका महेश्वर न्यौपानेको भूमिका पनि अनुसन्धानकै घेरामा छ । थापापछि गृह मन्त्रालयको नेतृत्व सम्हाल्न आइपुगेका बालकृष्ण खाँणका पालामा भुटानी शरणार्थीको सूचीमा राखेर शंकास्पद मानिएका ४ सय २९ जनालाई पुन:प्रमाणीकरण गर्न पटक–पटक ताकेता भयो । उनकै पालाका सचिव पाण्डेले विचौलियासँग पटक–पटक गरेको संवाद र तथ्यले पनि खाँण अनुसन्धान तानिने अर्का पात्र बनेका हुन् । विचौलियाका सदस्यका रुपमा पक्राउ परेका सन्देश शर्माले खाँणकी पत्नी मन्जु र आरजु राणालाई रकम दिएको भन्दै गरेको संवादको अडियो पीडितले प्रहरीलाई उपलब्ध गराइसकेका छन् ।

अब नक्कली शरणार्थी प्रकरणमा मन्जु र आरजु जोडिएका हुन् कि होइनन् भन्ने प्रमाण प्रहरीका लागि आवश्यक छ । यो सबै प्रपञ्च कहाँबाट कसरी बन्यो र ४ सय २९ जनाबाट रकम असुल गरेर शरणार्थीको सूचीमा समावेश गर्ने वातारण बन्यो भन्ने तथ्य बिचौलियाले प्रयोग गरेको भनिएका अध्ययन कार्यदलका संयोजक पन्थी र सदस्य केसीबाट खुलाउनुपर्ने छ । यो हिसाबले यदि सरकारले यो मुद्दालाई जडसम्मै लैजाने हो भने थप ७ जनालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको छ । त्यसका लागि प्रहरीले तथ्यसँगै सरकारी संयन्त्रको साथ खोजिरहेको छ ।