२१ बैशाख २०८२, आईतवार

राजनीतिक ‘ओत’मा टोपबहादुर

Top Bahadur Rayamajhi
फाइल फोटो

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा जोडिएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धान अघि नै बचाउन राजनीतिक दौडधुप तीव्र बनेको छ ।

नक्कली शरणार्थी बनाउने गिरोहका आठ जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेर बयानसहित अनुसन्धान अघि बढाएपछि पूर्वमन्त्री समेत रहेका रायमाझीको नामसमेत मुछिएको छ । उनको नाममा पक्राउ पुर्जी जारी गरेर प्रहरीले उनलाई खोजी गरिरहेको छ । प्रहरीकै भाषामा उनी फरार छन् ।

रायमाझी गत बुधबार अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर राति बुटवल आइपुगेका थिए । बुटवल आएपछि उनी सम्पर्कविहीन छन् । उच्च स्रोतका अनुसार उनी काठमाडौं आइसकेका छन् र राजनीतिक ‘ओत’ (संरक्षण)मा छन् । सो कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सोही दिन प्रहरीले रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो ।

रायमाझीको नाम नक्कली शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरी अनुसन्धानलाई नै फितलो बनाउने गरी राजनीतिक सक्रियता बढ्दो छ । रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबार पुगेरै भेटेका छन् ।

शनिबारसमेत ओलीले प्रधानमन्त्रीसँग सिंहदरवार पुगेर भेटेका थिए भने गत बिहीबार पनि उनीहरुबिच भेट भएको थियो । भेटमा ओलीले प्रचण्डलाई राजनीतिक प्रतिशोध नसाध्नसमेत चेतावनी दिँदै आइरहेका छन् । र ओलीले ‘निर्दोषलाई नफसाउन र दोषीलाई नजोगाउन’ भन्ने भाषा बोल्दै आइरहेका छन् ।

‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिंड्दाहिंड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ, भागेर कतै गइहाल्ने मान्छे त होइन, अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’ ओलीले गत बिहीबार प्रचण्डसँग भेटेर सिंहदरबारबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग भनेका थिए ।

‘प्रहरीले रायमाझीलाई खोजी रहेको छ, राजनीतिक वृत्तबाट एउटा खालको दबाब छ, प्रहरीले सबैतर्फ ध्यान दिँदै आफ्नो अनुसन्धान अघि बढाइरहेको छ,’ प्रहरी स्रोत भन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले प्रहरीले राजनीतिक पाटोलाई नभएर कानुनले दिएको अधिकारलाई प्रयोग गरेर अनुसन्धान गर्ने बताए ।

‘राजनीतिक पाटो एउटा छ, अनुसन्धानको पाटो अर्कै छ, प्रहरी आफ्नो ट्र्याकभन्दा बाहिर जाँदैन, कानुनले दिएको अधिकार प्रयोग गरेर प्रहरी अघि बढ्छ,’ केन्द्रीय प्रहरी प्रवक्ता कडायतले भने ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका एसएसपी डा। मनोज केसीले प्रहरीले रायमाझीलाई खोजी गरिरहेको बताए । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...