७ बैशाख २०८१, शुक्रबार

‘ज्याकी: आई एम ट्वान्टी वान’काे प्रिमियरमा कसले के भने ?

dhiraj and jassita

भोली बिहीबारबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले मंगलबार (हिजो) साँझ काठमाडाैंमा प्रिमियर गरेको छ । फिल्मकर्मी तथा पत्रकारको उपस्थितिमा काठमाडौंको नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज्मा गरिएको प्रिमियरमा उपस्थितले फिल्मको विषयवस्तुको प्रशंसा गरेका छन् ।

फिल्मले कुशल नृत्यकार बन्ने सपना साँचेको ज्याकी पात्रले बुवाको दबाबमा ब्रिटिस गोर्खामा भर्ती हुन गरेको संघर्षलाई देखाएको छ । फिल्मको समयावधि २ घण्टा २० मिनेटको छ ।

फिल्म हेरेपछि निर्देशक प्रदीप भट्टराईले ‘ज्याकीः आई एम ट्वान्थटी वान’ले नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको दाबी गरे । ‘नेपाली फिल्ममा जे बिक्छ, त्यही बनाउने चलन छ । यो फिल्मका लेखक तथा निर्देशक रेनाशा राई रानाले त्यो परिपाटीलाई भत्काइदिनुभएको छ । यो फिल्मले नयाँ सोचमा फिल्म बनाउने मेकरलाई बाटो खुला गरिदिएको छ’, उनले भने ।

अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्केले नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको बताए । उनीहरुले आफू प्रमुख कलाकार धिरज मगर र जसिता गुरुङको कामबाट प्रभावित भएको बताए । अर्की अभिनेत्री आना शर्माले नेपाली फिल्ममा नृत्य परक फिल्म बनाउन सक्नु आफैमा चुनौतिपूर्ण रहेकोमो त्यो चुनौतीलाई निर्देशक राईले पुरा गरेकोमा खुशी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा यो शैलीको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उल्लेख गरे ।निर्देशक राईले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको खुलाइन् ।

अभिनेत्री जसिता फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन् । अभिनेता धिरजले पनि फिल्मका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए । रेनाशा राणा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ ।

    सम्बन्धित समाचार...