३१ बैशाख २०८१, सोमबार

एसीसी प्रिमियर कप फाइन: नेपाल र यूएईबीच उपाधि भिडन्त, खेल वर्षाले प्रभावित भए नतिजा के होला ?

341849531 159090033768483 1995710098998168688 n

एसिया कप पुग्ने लक्ष्यसहित एसीसी प्रिमियर कपको फाइनलमा आज नेपालले यूएईसँग खेल्दै छ ।

एसिया कप खेल्न एक जितबाट टाढा रहेको नेपालले आज यूएईको चुनौती पन्छाउनु पर्ने छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

दुई दिन यतादेखि काठमाडौं उपत्यकामा अपराह्नपछि लगातान वर्षा हुँदै आएको र आज पनि वर्षाको सम्भावना रहेकाले फाइनल खेल प्रतिकूल मौसमका कारण प्रभावित हुन सक्ने छ।

एसीसी मेन्स प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको खेल बहुप्रतीक्षित हो । पछिल्लो समय असोसिएट राष्ट्रमा यी दुईबीचको भिडन्तलाई एल क्लासिकोको रुपमा पनि ब्याख्या गरिन्छ ।

यो खेलमा जित हात पार्ने टोलीले क्रिकेटका पावर हाउस भारत, पाकिस्तान जस्ता देशसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछ ।

यी दुईबीच भएको पछिल्ला चार भेटमा नेपालले तीन जित हात पार्दा यूएईले एक मात्र जित हात पारेको छ । नेपालले एक महिनाअघि टीयू मैदानमै विश्व क्रिकेट लिग टुमा यूएईलाई नै हराउँदै एकदिवसीय मान्यता जोगाएको थियो भने विश्वकप छनोटमा स्थान बनाएको थियो।

जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो । लिग टुअन्तर्गत पछिल्लो पटक यूएईसँग उसैको मैदानमा पराजय ब्यहोरे यताको ९ खेलमा नेपाल अपराजित छ । नेपाल सोही लयलाई निरन्तरता दिँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।

नेपालका लागि जारी प्रतियोगितामा ब्याटर कुशल मल्लले चार खेलमा सर्वाधिक २३८ रन बनाएका छन् । समूह चरणमा नचलेको नेपालको ओपनिङ जोडीले कतारविरुद्धको खेलमा ७७ रनको साझेदारी गरी आशा जगाएका छन् । यस्तै बलिङतर्फ सन्दीप लामिछानेले चार खेलमा ११ विकेट हात पारेका छन् ।

कतारविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका करण केसीको नाममा ८ विकेट छ । यता यूएईका लागि उच्च फर्ममा रहेका वृत्या अरबिन्दले जारी प्रतियोगितामा पाँच खेल खेल्दा ४ सय ४६ रन बनाएका छन् । मोहम्मद वासिमले २ सय २५ र रोहन मुस्तफाको नाममा एक सय ७९ रन छ । नेपालले उपाधि जितेर एसिया कपमा स्थान बनाउने हो भने यूएईका शीर्ष क्रमका ब्याटरलाई रोक्नु पर्नेछ ।

एक महिनाअघि सम्पन्न विश्व क्रिकेट लिग टुमा खराब प्रदर्शन गरेको यूएईले विश्वकप छनोटको प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको छ । प्रशिक्षक मुदसर नजर आएयता टिमको प्रदर्शन फेरिएको छ । जारी प्रतियोगितामा पनि पाँच खेलमा चार जित हात पारेको यूएईको पनि नजर उपाधिमा छ ।

वर्षाले खेल प्रभावित भएमा नतिजा के हुन्छ त ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै मौसम बदली भई मध्यान्ह १२ बजेदेखि मेघगजर्नसहित पानी पर्ने सम्भावना छ ।

आज खेल हुन नसकेमा भोलि (मंगलबार) लाई वैकल्पिक दिन राखिएको छ । फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ ।

नेपाल ओडीआई वरीयताको १४औं स्थानमा छ भने यूएई नेपालभन्दा पाँच स्थान तल छ । उपाधि जित्ने टोलीले एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह ए मा स्थान बनाउनेछ । समूह बीमा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

दुवै समूहमा शीर्ष दुईमा रहने दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा पनि शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि भिड्नेछन् । एसीसी एसिया कपको १३ औं संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ।

    सम्बन्धित समाचार...