५ जेष्ठ २०८१, शनिबार

प्रतिनिधिसभा बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन विशेष समिति गठन गर्दै

house

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्ने संसद सचिवालयले जनाएको छ ।

कार्यसूचीअनुसार सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी नामावलीसहितको प्रस्ताव पेस गर्नेछिन् । उक्त प्रस्तावलाई एमाले सांसद रघूजी पन्तले समर्थन गर्नेछन् ।

प्रमुख तीन राजनीतिक दलबीच संसदीय विशेष समिति गठन गर्ने सहमति अनुसार आजको संसद बैठकमा समिति गठनको प्रस्ताव गर्ने तयारी भएको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक हाल दफावार छलफलको चरणमा पुगेको छ । संसदीय विशेष समिति गठनपछि यी विधेयकहरु समितिमा छलफल हुनेछ ।

यस्तै, आजको बैठकमा संसदीय सुनुवाइ समिति पनि गठन हुने भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त प्रस्ताव माथि प्राप्त संशोधनहरुलाई निर्णायर्थ प्रस्तुत गरिने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री दाहालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजै दिउँसो १ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ ।

    सम्बन्धित समाचार...