१२ बैशाख २०८१, बुधबार

शुक्लाफाँटाको नरभक्षी बाघ जावलाखेल चिडियाखानामा, महाराजाको जोडी बनाएर राखिने

TigeratZoo

 कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । उक्त बाघको आक्रमणमा उनको ज्यान गएको थियो । अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिइ भिडियाखानामा ल्याइएको हो ।

बाघ नियन्त्रणमा लिइ चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिएर चिडियाखानामा राखिएको जनाए । उनले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भएपनि ५ वटा बाघ रहेको जानकारी दिए। उनले आईतबार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको जनाए । उनले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको जानकारी दिए ।

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार...