७ बैशाख २०८१, शुक्रबार

फिल्म ‘जारी’को पहिलो हप्ताको कमाइ ७ करोड भन्दा माथी

Jaari Team

‘कबड्डी’ समुहको फिल्म ‘जारी’ले यस वर्षको सानदार सुरुवात गरेको छ । फिल्मले पहिलो हप्ता ७ करोड ६५ लाख रुपैयाँ जोडेको चलचित्र विकास बोर्डको सिस्टममा देखिन्छ । यसमा शुक्रबार (आज)को एड्भान्स बुकिङको कमाई पनि जोडिएकाले त्यसलाई घटाउँदा र बक्सअफिस नजोडिएका हलको रिपोर्ट जोड्दा फिल्मले एक हप्तामा ७ करोड ५०/५५ लाखसम्म कमाएको हुनसक्छ ।

दोस्रो हप्तामा पनि फिल्मले राम्रो अंक जोड्ने निश्चित छ । मल्टीप्लेक्सहरुमा पाएको उच्च शो र त्यसमा देखिएको दर्शकको चापले दोस्रो हप्तामा फिल्मले साढे २ देखि ३ करोडसम्म कमाउन सक्ने सम्भावना देखिन्छ । त्यसमाथि बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘किसी का भाई किसी की जान’ कमजोर निस्किएकाले हलमा पकड बनाइराख्न ‘जारी’लाई थप सहज भएको छ ।

घरेलू बजारमा फिल्म १२ करोड आसपासमा समेटिन सक्नेछ । नेपालको हकमा यो ठूलो अंक हो । दर्शक तथा समीक्षक दुवैबाट अब्बल प्रतिक्रिया पाएकाले ‘जारी’ कमाईमा बलियो भएको हो । लिम्बू संस्कृति र परम्परामा केन्द्रित फिल्मले जारी प्रथालाई मियो बनाएर दयाहाङ राई र मिरुना मगरबीचको प्रेमकथा वाचन गरेको छ । उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्म दृश्यभाषामा तगडा छ ।

यो फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेलगायतको पनि अभिनय छ । रामबाबु गुरुङ निर्मित फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । ‘कबड्डी ४’पछि दयाहाङ र मिरुनाबीच ‘जारी’मा सहकार्य भएको हो ।

    सम्बन्धित समाचार...