१६ चैत्र २०८०, शुक्रबार

‘सकम्बरी’ गीत विवाद: प्रकाश सपुतलाई गीत हटाउन रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको चेतावनी

prakash

गायक प्रकाश सपुतको स्वर, शब्द, संगीतमा तयार भएको ‘सकम्बरी’ बोलको गीत पछिल्लो समय विवादित बनेको छ । एक नारीले आफ्नो जीवन  जिउनका लागि देह व्यापार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको गीतको भिडियोले आलोचना भोगिरहेको छ । कतिपयले यो गीत र भिडियोको समर्थन गरेका छन् भने कतिपयले यसको विरोध गरिरहेका छन् । सामाजिक संजालमा विशेषगरि भिडियोलाई लिएर मानिसहरु २ ध्रुवमा छुट्टिएका छन् । 

यसैबिच, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले गायक सपुतलाई गीत युट्युबबाट हटाउन चेतावनी दिएको छ । यदि, गीत नहटाइएको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । 

संघका अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ–‘गायक प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी÷ नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ’पीर’ र ’फूलमाया सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन् र चर्चित हुन खोजेका छन् । नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन् । यौन बाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् प्रश्न छ ।

२१औं शताब्दीको नेपाली छोरीहरू पसिना बगाएर, मिहिनेत गरेर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् । सरकारी, निजी क्षेत्रको उच्च नेतृत्व सम्हाल्ने, हवाइजहाज उडाउन सक्ने भएका छन् नेपाली छोरी । होला केही वाध्यता र परिस्थितिले यसमा फसेका पनि छन् । कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईंको भनाइमा ’वेश्यावृत्ति’ गरेर नै यस क्षेत्रमा आएका हुन् र स्थापित भएका हुन् त ? तपाईजस्तो भुइमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी- नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ? अनि महिलाले राम्रो अवसर पाउन- चर्चित हुन शरीर बेचेकै हुन्छन् ? वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य छैन ? मेहनत र संघर्षको बाटो छैन ? के रात्रीकालिन व्यवसायमा संलग्न सबै नारी-छोरीहरू देहव्यापार नै गर्न गएका हुन्छन् त ? यस्ता प्रश्नको उत्तर आउने रचना र शब्द लेखनमा तपाईंको दिमाग, हात र मुख चल्यो भने चाहिँ सकरात्मक सन्देश जान्थ्यो यसो गर्दा तपाईंको कमाई नहुने हो र ? तपाईको यो गीतले सबै महिलालाई आक्षेप लाग्ने काम भयो, यो निन्दनीय छ ।’

संघले गायक सपुतलाई भिडियो सम्पूर्ण सामाजिक संजालबाट हटाउन चेतावनी दिदै नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न आग्रह गरेको छ । साथै, संघले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार नगर्न सपुतसँग आग्रह गरेको छ । भिडियो र गीतको केही शब्दमा आफूहरुको आपत्ती रहेको जनाउँदै संघले गीत युट्युबबाट नहटाइए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । साथै, संघले सपुतको गीतको घोरा भत्र्सना गरेको उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार...