७ जेष्ठ २०८१, सोमबार

बालुवाटार गोली प्रकरण : तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

gunfire

नेपाली प्रहरीले नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नम्बर १ गणमा आन्तरिक थुनामा राखेको छ ।

प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए । उनले भने, “प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हबल्दार पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो । सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन् । नयाँवर्ष मनाउने क्रममा पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरू पनि सहभागी रहेका प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...