१६ चैत्र २०८०, शुक्रबार

ओली पार्टी एकताबारे छलफल गर्न तयार हुनुहुन्छ भने म त्यसको स्वागत गर्छुः खनाल

Jhalanath Khanal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले झलनाथ खनालले आफू नेकपा एमाले प्रवेश गर्न लागेको कुरा अनावश्यक हल्ला भएको बताएका छन् ।

‘यो अनावश्यक हल्ला हो । म अहिले एमाले नेतृत्वविरुद्ध विद्रोह गरेको पार्टीमै छु । एमालेको नेतृत्वसँग हाम्रा गम्भीर मतभेद छन् । मैले एमालेलाई दक्षिणपन्थी अवसरवाद र गुटवादबाट मुक्त गर्नुपर्छ भन्दै आएको छु । त्यो नेतृत्व सच्चिँदै नसच्चिईकन म एमालेमै फर्किने कल्पना गर्न सक्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै खनालले भने । उनले हल्लाको पछाडि नलाग्न कार्यकर्तापंक्तिलाई आग्रह पनि गरे ।

पार्टीभित्र एकताको बहस हुनु स्वाभाविक भएको पनि उनले बताए । खनालले भने, ‘म एमालेमा फर्कने वा नफर्कने प्रश्न नै होइन । तर तुरुन्त एउटाबाट अर्कोमा फाल हाल्नु स्वार्थी, पलायनवादी र दक्षिणपन्थी प्रवृत्ति हो । एउटा पार्टीमा जम्मैका जम्मै विचार मिल्नुपर्छ भन्ने पनि छैन । बहस र छलफल हुँदै वादे वादे जायते तत्त्वबोध गर्ने हो । सही विचार, सही सिद्धान्त, सही नीति, सही कार्यदिशा पत्ता लगाउन बहस त मज्जाले गर्नुपर्छ नि ।’

कुनै पनि नेताप्रति आफूले आग्रह पूर्वाग्रह नराखेको पनि खनालले बताए । उनले थपे, ‘यो देशमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने क्रममा नेकपालाई संसदमा दुई तिहाइ मिलेको थियो ।

त्यसले मुलुकमा चकाचौध गर्न सक्थ्यो । तर नेतृत्व त्यस किसिमले अघि बढ्न सकेन । अब कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुको विकल्प छैन । तर म अंकमाल गरेर, टाउको जोडेर वा पदको लेनदेन गरेर एकता गर्ने पक्षमा छैन । तर कमरेड केपी ओली छलफल गर्न चाहनुहुन्छ भने म त्यसलाई स्वागत गर्न तयार छु ।’ एमालेभित्र पनि ठूलो संख्यामा नेता कार्यकर्ता कम्युनिस्ट एकताको पक्षमा रहेको पनि उनले दाबी गरे ।

कुर्सी र पद केन्द्रित लोभी नेताहरुका कारण जनता निराश भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिहिनेतसाथ काम गर्नुपर्ने पनि उनले बताए । साथै खनालले स्मार्ट टेलिकमले २७ अर्ब कर नतिरीकन नवीकरण गर्नु देश र जनतामाथिको विश्वासघात हुने पनि औंल्याए ।