१५ चैत्र २०८०, बिहीबार

सशक्त भूमिका मार्फत दर्शकमाझ आउन लागेका नरेन ‘बुलाकी’को सफलताप्रति ढुक्क

naren

नरेन खड्का अभिनीत नयाँ फिल्म ‘बुलाकी’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्म ‘हमेशा’बाट डेब्यू गर्ने अवसर पाएका अभिनेता खड्का लामो समयपछि ‘बुलाकी’ मार्फत एउटा सशक्त भूमिका मार्फत दर्शकमाझ आउँदैछन् ।

‘हमेशा’ मार्फत डेब्यू गरेपछि अभिनेता खड्काले विभिन्न नेपाली फिल्मका साथै केही भोजपुरी फिल्ममा समेत अभिनय गरे । यद्यपि, राम्रो कथावस्तु छनोट गर्न नसक्दा उनी दर्शकको नजरमा पर्न सकेका छैनन् ।

यतिबेला अभिनेता खड्का नयाँ सिनेमा ‘बुलाकी’ मा आफू सशक्त भूमिकामा प्रस्तुत भएकाले दर्शकको नजरमा पर्ने तथा उनीहरूको मन जित्ने कुरामा आशावादी देखिएका छन् ।

नेपाली फिल्म निर्माण गर्ने ठूला ब्यानर तथा निर्माता–निर्देशकको साथ नपाउँदा ओझेलमा परेका झैँ देखिएका अभिनेता खड्काको अभिनय गर्ने क्षमता तथा प्रतिभामा भने खोट लगाउन ठाउँ नदेखिएको उनीसँग काम गरेका फिल्मकर्मी बताउँछन् ।

अभिनय क्षमता भएर पनि अभिनेता खड्काले काम गरेका अधिकांश फिल्महरूले दर्शकको साथ नपाउनु तथा उनले छनोट गरेका कतिपय फिल्म नै गलत पर्नु पनि उनको कामको मूल्याङ्कन हुन नसकेको अर्को उदाहरण हो ।

यसपटक उनी ‘बुलाकी’ मार्फत दर्शकको साथ, समर्थन तथा माया पाउने कुरामा ढुक्क देखिन्छन्, संग–संगै आशावादी पनि छन् ।

उनी भन्छन्, ‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचेक्र्याई पनि गरे । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ ।

‘बुलाकी’ मा अभिनेता खड्काले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निवार्ह गरेका छन्, जो विवाहित छन् । विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन । खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन् ।

फिल्मका सार्वजनिक प्रचार सामाग्री ट्रेलर हेर्दा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेता खड्काले पनि उत्कृष्ट काम गरेको अनुमान गर्न सकिन्छ । अभिनेता खड्का आफैँ पनि सुदुरपश्चिममा जन्मि-हुर्केका हुनाले कर्णाली प्रदेशको एक साधारण युवकको भूमिकामा काम गर्न सहज भएको बताउँछन् । बुलाकी मेरो कमब्याक फिल्म हुनेछ, उनी बताउँछन् ।’

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरिएको अभिनेता खड्काको भनाइ छ । साथै, उनी ‘बुलाकी’लाई यथार्थपरक र मौलिक फिल्म भन्न रुचाउँछन् ।

फिल्म जारी प्रथाको विषयमा मात्र केन्द्रित नरहेको पनि उनको दाबी छ । फिल्ममा कर्णाली क्षेत्रका महिलाहरूको समस्या, वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यताको कथा पनि रहेको उनको भनाई छ ।

फिल्ममा अभिनेता खड्का तथा अभिनेत्री पन्तसँगै बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको यो फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्ट पटकथा तथा संवाद रहेको छ ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्मको छायांकन डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको हो । फिल्मको वितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।

    सम्बन्धित समाचार...