२४ बैशाख २०८१, सोमबार

हवाइजहाजका यात्रुले विमानभित्र झगडा गरे बाँधेर राख्न सकिने

Buddha Air Jhagada

बसमा होस् या विमान, हरेक यात्रुले तोकिएको मापदण्ड पूरा गर्नैपर्छ । हवाई यात्रामा त अझ बढी नियमहरुको पलाना गर्नुपर्ने हुन्छ ।

बुधबार बुद्ध एयरको जहाजमा दुई यात्रुबीच कुटाकुट भएपछि हवाइजहाजका यात्रुले कस्ता मापदण्ड पूरा गर्नुपर्छ भन्ने चासो बढेको छ ।

गैरसैनिक हवाई उडान ऐन २०१५ मा विमानका यात्रुले गर्न हुने र नहुने कुराहरु उल्लेख गरिएको छ । जसमा जाँड–रक्सी वा नसालु पदार्थ सेवन गरेर मात्न नहुने, चालक दलका सदस्य वा अन्य यात्रुलाई आक्रमण गर्न नहुने, विमानमा क्षति पुर्याउन नहुने र विमान परिचारिकाले दिएको निर्देशन पालना गर्नुपर्ने जस्ता नियम छन् । तोकिएको नियम पालना नगरेमा चालकको निर्देशनमा बाँधेर राख्न सक्नेसम्मको कानूनी व्यवस्था छ ।

मानसिक सन्तुलन गमाएका र डाक्टरको सल्लाहमा औषधी सेवन गर्नेका साथमा एकजना सहयोगीविना यात्र गर्न दिइँदैन । यात्रुले तोकिएको मापदण्ड पूरा नगरे गैरसैनिक हवाई उडान ऐन २०१५ बमोजिम कारबाही हुने ऐनमा व्यवस्था छ ।

केही दिन अघि बुद्ध एयरको विमानभित्र भएको कुटाकुटको घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल भन्छन्, ‘व्यक्तिहरु मर्यादित नहुनु, कुट्नु पिट्नु, झैंझगडा गर्नु सेक्युरिटीसँग असर गर्ने घटना हुन् । यस्ता झैझगडामा विमानस्थल सेक्युरिटी अन्तरगत कारवाही हुन्छ ।’

एयरलाइन्स अथवा जहाजभित्र त्यस्तो घटना भएको छ भने सामान्य खालको घटनालाई एयरलाइन्स सेक्युरिटी अनुसार कारवाही हुने बताउँदै ज्ञानेन्द्र भन्छन्, ‘अलिकति गम्भीरखालको घटनालाई गैरसैनिक हवाई उडान ऐन २०१५ अनुसार कारवाही हुन्छ ।’

    सम्बन्धित समाचार...