३ जेष्ठ २०८१, बिहीबार

म न्यायिक प्रक्रियामा सहभागी हुने मान्छे हुँ, राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवि लामिछाने

Rabi Lamichhane

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् ।

पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले पासपोर्ट मुद्दा मिलाउन सरकारसँग सौदाबाजी नगरेको दाबी गरेका हुन् ।

महान्यायाधिवक्ता दीनमणि पोखरेलले रास्वपा सभापति लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै अमेरिकी पासपोर्ट र नागरिकता बोकेर नेपाल आएको विषयलाई कसुर मान्न नमिल्ने भन्दै महान्यायाधीवक्ता पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

उक्त निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन गरिएको थियो । निर्णय गर्नुपहिला रास्वपाका संसदीय दलका नेता डीपी अर्यालले महान्यायाधीवक्ता कार्यालयमा गएर भेट गरेका थिए । दाहाललाई रास्वपाले विश्वासको मत दिएको थियो ।

सभापति लामिछानेले भने उक्त मुद्दामा सौदाबाजी नगरेको बताएका हुन् । कुनै पनि भिक्टिम नभएको केसमा प्रहरीले पुरै अनुसन्धान गरेको छ ।

सरकारी वकिलका जिल्ला, उच्च हुँदै महान्यायाधीवक्तासम्म गएको छ । मैले आफ्नो बयान दिएको छु । सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ या हार्छ भने स्वीकार गर्नु नै त हो, उनले भने, सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ वा हार्छ भने त्यसलाई स्वीकार गर्नु नै त हो नि अरु के हुन्छ । मैले कुनै प्रक्रियामा बाधा अड्चन हालेको छैन । प्रक्रिया पूरा भएको छ । त्यसमा आएको फैसला मान्नुबाहेक मसँग अर्को उपाय छैन । त्यसमा मैले सौदाबाजी गरेको छैन र गर्नु पनि पर्दैन ।लामिछानेले अब ुमुद्दा बल्झिन नदिनेु बताएका छन् ।

उनले पासपोर्ट मुद्दामा अधिकारप्राप्त निकायहरूले निर्णय गरेको बताए । अरु दलका नेताहरू विभिन्न मुद्दामा जेल परेर न्यायिक प्रक्रिया पूरा नभई निस्किने गरेको तर आफूले भने सबै न्यायिक प्रक्रिया पूरा गरेको बताए । म कैयौं दलका साथीहरू विभिन्न मुद्दामा परेको देख्छु । उहाँहरू त्यत्तिकै निस्किनुहुन्छ । म त न्यायिक प्रक्रियामा सहभागी हुने मान्छे हुँ, उनले भने ।