१४ बैशाख २०८१, शुक्रबार

रुकुम चौरजहारी हत्याकाण्ड : “बुवा, दाइ र गाउँलेले नवराजलाई कुटीकुटी मारे होलान्”, युवतीको परिवार र वडाध्यक्षको योजनामा हत्या

rukum

चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजनाअनुसार नै भएको गृह मन्त्रालयको छानबिन समितिले निष्कर्ष निकालेको छ । रुकुम पश्चिममा जातीय विभेदकै कारण नवराज विकसहित ६ जनाको क्रुर एवं अमानवीय तवरले हत्या भएको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अभियोग पत्रमा घटनाको मुख्य कारण जातीय विभेद मानिएको छ भने योजनाकार परिवारका सदस्यलाई मानिएको छ ।

प्रहरी अनुसन्धानले मारिएका सबै ६ जनालाई गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको छ।

‘कुट्दै लखेटेको भनेर गाउँलेले पनि भनेका छन्। तर पहाडमा हुर्किएका केटाहरुले त्यो नदी सामान्य अवस्थामा तर्न सक्ने देखिन्छ। मृतकको शरिरमा देखिएको चोटपटकले मारेर या बेहोस अवस्थामा भेरी नदीमा फालेको हाम्रो निष्कर्ष छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानका आधारमा तयार पारिएको यो अभियोग पत्रसँग मेल खाने प्रतिवेदन गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेत नेतृत्वको छानविन टोलीले पनि सरकारलाई बुझाएको छ ।

घटना के भएको थियो ?

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक चौरजहारी-८ सोतीमा रहेकी ठकुरी परिवारकी प्रेमिका लिन १९ जना युवाहरु लिएर जेठ १० गते सोती पुगेका थिए। साँझतिर सोती पुगेका उनीहरुलाई गाउँलेले लखेटेका थिए।

युवा पक्षका १३ जना सम्पर्कमा आएपनि ६ जना बेपत्ता भएपछि राति नै प्रहरीले खोजी सुरु गरेको थियो। त्यहि दिन राती नवराजको शव भेरी नदीको किनारमा भेटिएको थियो। करिब दुई साताको बीचमा बाँकी पाँच जना युवाको शव पनि भेरी नदीमा भेटिएको थियो।

‘युवतीसँग कुराकानी गरेर केटाहरु सोती पुगेको देखिन्छ जुन एक साताअघि नै त्यहाँका गाउँलेलाई थाहा भएको पाइएको छ। युवाहरु लखेटिँदा गाउँलेहरुले भेरी नदी किनारमा ढुकिरहेको अनुसन्धानबाट खुलेको छ। जाजरकोटबाट गएका युवाहरु ३/४ वटा समूहमा तितरबितर भएको देखिन्छ। नवराजसहित ६ जना एउटै दिशातिर लागेकाले उनीहरु गाउँलेको ट्रयापमा परेको पाइएको छ’।

प्रहरीका अनुसार घटना भइरहेका बेला प्रेमिका भनिएकी युवती भने घरमै थिइन्।

घटना हुनुअघि दुईपटक प्रेमिका भनिएकी युवती नवराजको घरमा गएर समेत बसेको पाइएको छ । यद्यपि, पछिल्लो समय उनीहरुबीच सुमधुर सम्बन्ध थिएन ।

युवतीको वयान: ‘परिवारकै योजनामा हत्या’

रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन्।

‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनें,’ उनले भनेकी छन्, ‘पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई लखेट्दै घेरा हाल्दै घटनास्थल पुर्‍याई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।’

उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृत्यु भएको कुरा भने आफूले अर्को दिनमात्र थाहा पाएको बताएकी छन्।

युवतीको वयानमा आधारित घटनाक्रम:

  • २०७५ फागुनदेखि फेसबुकमा नवराजसँग चिनजान भएको र त्यसपछि कुराकानी र भेटघाट हुँदै गएको
  • नवराजले बारम्बार विवाह गरौं भनेपनी उमेर सानै छ भन्दै अस्विकार गरेको
  • १४ पुसमा रमाइलो मेला जाँदा नवराजसँग भेट भएको र उनकै घरमा बास बसेको
  • पूजाको भाइको जन्म दिनमा गएको र नवराजकैमा सुतेर भोलिपल्ट घर फर्किएको
  • फोनमा विवाहका लागि प्रस्ताव राख्ने गरेको
  • नवराज घटना हुनुअघि पनि दुई-चार पटक आफ्नो गाउँमा आएको
  • केही समयअघि नवराज आफ्नो गाउँमा आएका बेला बुवाआमाले सम्झाएर घर पठाइदिनु भएको
  • २०७७ साल वैशाख १७ गते राति ८-९ बजे २ साथीलाई साथ लिइ आउँदा परिवार र वडा अध्यक्ष सहित गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाएको
  • नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको
  • बहिनी नाता पर्नेसँग मलाई लिन केटाहरू लिएर आउँछु भनेको कुरा बहिनीले मेरी आमालाई भनेकी
  • आमाले जेठ २ गतेतिर भनेपछि मात्र थाहा भएको
  • नवराज विक दलित भएको, म समेत परिवारको चित्त नबुझेको
  • पटक–पटक आउने गरेकाले पुनः आएमा मारिदिने योजना बनेको

उनले बुबा, दाइ समेतले नवराजलाई लखेट्दै घेरा हालेर कुटपिट गरेर मारेको पूर्ण विश्वास लाग्ने पनि वयानमा बताएकी छन् ।

आमाले गाली गरेपछि फर्किएका थिए नवराज

किशोरीकी आमाले नवराज छोरी लिन आए मार्ने योजना रहेको बयान दिएकी छन्।

‘त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ। केटाहरूलाई लखेट्दै भेरी नदी पुर्‍याइ कुटपिटसमेत गरी ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,’ उनको बयानमा उल्लेख छ।

  • घटना भएको दिन दाजु र बुबा घर नजिकै रहेको ढुंगाखानीमा काम गरिरहेका
  • नवराजसहितको समूह आउँदै गरेको देखिपछि घरमा रहेकी आमालाई फोन गरेका
  • नवराज युवतीको घरमा पुग्ने वित्तिकै आमाले डुम भनेर नवराजहरुलाई गाली गरेको
  • ‘तँ डुम फेरि किन आइस् आज मर्छस्’ भन्दै धम्की दिएको
  • गालीगलौज गरी कराउँदै श्रीमानलाई फोन गरेर खबर गरेको
  • नवराजहरू भागेर तल गएका
  • पूर्वयोजना बमोजिम श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेको
  • वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरेका
  • नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी र पछी श्रीमान, छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका

किशोरीका बुवाको बयान अनुसार:

उनले केटाहरू घरमा आएपछि श्रीमतिले आफूलाई, आफूले वडाध्यक्षलाई फोन गरेर खबर गरेको बताएका छन्। उनले वडाध्यक्षलाई उद्धृत गर्दै भने – जति सम्झाउँदा पनि नटेरेकाले तह लगाउनुपर्छ म गाउँलेलाई बोलाउँछु।

केटीका बुबाले वयानमा भनेका छन्, ‘तलतिर लागेका छन् भन्ने वित्तिकै मैले श्रीमतीलाई तिनीहरु कता जान्छन् पिछा पर्दै गर भनेको थिएँ र त्यही मौकामा मैले प्रतिवादी (वडाध्यक्ष) डम्बरबहादुर मल्ललाई फोन गरेको थिएँ ।’

उनको बयानमा आफूसहित गाउँलेहरू जम्मा भएर नवराजहरूलाई ढुङ्गा, लाठी हान्दै लखेटेको र केटाहरू बाध्य भई भेरी नदीको बगरतिर दौड्दै हाम फालेको उल्लेख छ।

‘गाउँलेहरूले मृतकसमेतका केटाहरूलाई पछाडिबाट लाठी ढुङ्गा हान्दै लखेटेका र भेरी नदी पुर्‍याई मारेका थिए,’ उनको बयानमा उल्लेख छ, ‘मसमेत पछिपछि गएको थिएँ, गाउँलेहरूले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए, पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आइरहेका थिए।’

नदीवारि रहेका ७ जना केटाहरूलाई नियन्त्रणमा लिएको र नदी तरी गएकालाई समेत अन्य गाउँलेले कुटपिट गरेको आफूले देखेको उनले बताएका छन्।

वडाध्यक्षलाई नवराजसहितको समूह घरमा आएको र के गर्ने भनेर प्रश्न सोधेको उनले वयानमा भनेका छन् । ‘जतिपटक सम्झाउँदा पनि लागेन छ, आज तह लगाउनुपर्छ’, वडाध्यक्षले त्यसबेला भनेको कुरा सम्झिँदै केटीका बुबाले वयानमा भनेका छन्, ‘म अरु सबैलाई खबर गर्छु, पिछा गर्दै गर्नु नियन्त्रणमा लिनुपर्छ भनेकाले मैले उनीहरुको पिछा गरेको हुँ ।’

यो संवादपछि वडाध्यक्ष मल्लले ९८४८९६९७३३ नम्बरको मोबाइलबाट मानबहादुर मल्ललाई ९८६६८६८९६८ र नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरेर पनि घटनास्थलबारे गलत सूचना दिएर प्रहरीलाई गुमराहमा राखेको उल्लेख गरिएको छ ।

नदीमा हाम नफाल्नेलाई पनि नियन्त्रणमा लिएर हत्या

युवतीका बुबाको वयान अनुसार पिछा गर्दै गरेको अवस्थामा वडाध्यक्ष डम्बरबहादुरहरुसँग उनको भेट हुन्छ । त्यहीँ युवतीका दाइ, प्रेमबहादुर ठकुरी, डिल्ली मल्ल लगायतका प्रतिवादी भेला भएर नवराजहरु भएतिर गएको पाइएको छ ।

त्यसपछि मध्यपहाडी लोकमार्गमा पुग्नै लाग्दा नवराजहरुलाई तलतिर झरेको देखेपछि चारैतिरबाट ढुंगा, लाठी हान्दै लखेट्न थालेको केटीका बुबाको वयान छ । गृहको प्रतिवेदन अनुसार परिवार र गाउँले घरबाट चार किलोमिटरसम्म नवराजहरुलाई लखेटेका थिए ।

औल जिउला भन्ने ठाउँमा पुगेपछि नवराजहरू बाध्य भएर भेरी नगदीको बगरतिर दौडिँदै हाम फालेको पाइएको छ ।

युवतीका बुबाले दिएको बयान अनुसार नवराजको समूहका एक जनालाई प्रेमबहादुर ठकुरी लगायतले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । नवराजसहित अन्यलाई सन्तोष मल्ल, मोहन पुन मगर, विनोद मल्ल, विष्णु मल्ल, टोपबहादुर मल्ल, युवतीका दाइ, डम्बर मल्ल लगायतले पछाडिबाट ढुंगाले हानेर भेरी नदीमा मारेको बुबाले बताएका छन् ।

आफू पनि त्यहाँ गएको बताउँदै उनले प्रहरीसँग बयान दिएका छन्, ‘निजहरुले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए ।’ नदीमा हाम फाल्न नसक्ने ५ जनालाई नियन्त्रणमा लिएर पनि कुटेको उनले उल्लेख गरेका छन् । नदी तरेका केटाहरुलाई पनि अन्यले कुटपिट गरेको देखेको उनले बयान दिएका छन् ।

युवतीका दाइले पनि नवराजसहितका व्यक्तिको हत्या गरेको बयानमा स्वीकारेका छन् । उनले नदीमा सानो पानी भएको भंगालोबाट पारि बीच बगरमा पुर्‍याएर पनि नवराजलाई लाठी र ढुंगाले टाउकोमा प्रहार गरेको बताएका छन् ।

नवराजसहितको मृत्यु भएपछि भेरी नदीमा बगाइदिएको उनको भनाइ छ । ‘पाँच जना केटाहरुलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौं, भेरी नदीमा मारेर गएर ५ जना केटाहरुलाई समेत केही प्रतिवादीले पौडी खेलेर पारी गएर कुटपिट गरेर नियन्त्रणमा लिएका हुन् ।’