७ बैशाख २०८१, शुक्रबार

उपेन्द्र यादवले बारा–२ मा उम्मेदवारी दिने तयारी गरेपछि बलियो उम्मेदवारको खोजीमा सिके राउत

upendra ck 1
फाइल फोटो

बारा–२ को उपनिर्वाचनले मधेश प्रदेशमा राजनीति तातेको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन् । तर, यादवलाई रोक्नको लागि मधेशवादी दलहरु नै हात धोएर लागेका छन् ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरु एक भएर जसपाका यादवलाई रोक्ने योजना बनाएका छन् । जनमतका अध्यक्ष सिके राउतले त यादवलाई फिरंगीको संज्ञा दिएका छन् । केही दिनअघि उनले बाराको भ्रमण गरेर यादवविरुद्ध कडा टिप्पणी गरेका थिए ।

राउतले यादवलाई हराउनको लागि बलियो उम्मेदवारको खोजी गरेको बुझिएको छ। जनमतनिकट उच्च स्रोतकाअनुसार राउतले यसअघि मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार रहेको माओवादीका शिवचन्द्र कुशवाहालाई आफ्नो दलमा भित्र्याएर उम्मेदवार बनाउने भएका छन् ।

यसको लागि राउतले कुशवाहासँग लामो छलफल गरिसकेका छन् । स्रोतकाअनुसार राउतले कुशवाहालाई आजै आफ्नो पार्टीमा प्रवेश गराउने तयारी गरेका छन् । अहिले राउत बालुवाटारको सत्ता गठबन्धनको बैठकमा सहभागी छन् । सो बैठकलगत्तै उनले कुशवाहालाई आफ्नो दलमा प्रवेश गराउने बुझिएको छ ।

    सम्बन्धित समाचार...