
एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २१ सदस्यीय टोली घोषणा गरेको हो ।
क्यानले यू-१९ टोलीका कप्तान देव खनालाई सिनियर टिममा बोलाएको छ । विश्व क्रिकेट लिग टुका अन्तिम चार सिरिजमा देव टिममा थिएनन् ।
देवको कप्तानीमा नेपालले गत महिना यूएईलाई हराउँदै यू – १९ विश्वकपमा स्थान बनाएको थियो ।
सिनियर टिमले लिग टु का १२ मध्ये एघार खेल जित्दै विश्वकप छनोटमा सिँधै स्थान बनाएको थियो । त्यसलगत्तै प्रशिक्षक मोन्टी देशाइ बिदामा भारत फर्किएका थिए । उनी शनिबार नेपाल आइपुग्ने छन् । त्यसपछि नेपालको बन्द प्रशिक्षण सुरु हुनेछ ।
नेपालमा बैशाख ५ गतेदेखि एसीसी प्रिमियर कप आयोजना हुँदैछ । नेपाल रहेको समूहमा ओमान, कतार, साउदी अरेबिया र मलेसिया छन् ।
हङकङ, यूएई, कुवेत ,सिंगापुर र बहराइन अर्को समूहमा छन् । प्रतियोगिता कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ । दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल जित्ने टिमले एसिया कप खेल्न पाउने छ ।
नेपाली टोली
कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल, सन्दीप जोरा,कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सुर्य तामाङ,सोमपाल कामी, किशोर महतो, करण केसी,देव खनाल,सन्दीप लामिछाने