
प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शनमा उत्रिएको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।
पहिचान पक्षधर विभिन्न संघसंस्थाले संयुक्त रुपमा गरेको प्रदर्शनलाई नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले अश्रु ग्यासका साथै लाठी चार्ज प्रहार गरेको छ ।
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरको अवस्था तनावपूर्ण बनेको छ ।
गत फागुन १७ गते प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेको थियो । अघिल्लो कार्यकालको पाँच वर्ष नामकरण गर्न नसकेको प्रदेशसभाको दोस्रो कार्यकालको औपचारिक सुरुवात भएको ६२ औँ दिनमा प्रदेश १ ले कोशी नाम पाएको थियो ।
उक्त नामप्रति पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउँदै पुनः नामकरणको माग गर्दै आएका छन् ।
साथै, पहिचानको आधारमा नाम राख्न माग गर्दै यही चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट सिकिस्त घाइते भएका पदम लिम्बु लाजेहाङको उपचारको क्रममा चैत १० गते निधन भएको थियो । उनको निधनपछि पहिचान पक्षधर समूहले आन्दोलनलाई झनै चर्काउँदै लगेका छन् ।
प्रदेश राजधानीसमेत रहेको विराटनगर पछिल्लो केही दिनदेखि अशान्त रहँदै आएको छ ।
