१५ चैत्र २०८०, बिहीबार

कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का

prakash saran mahat
फाइल फोटो

सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ ।

शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मत दिएका नेताहरू सभापति देउवाको धुम्बाराहीस्थित निवासमा धाइरहँदा इतर समूहका नेता डा शेखर कोइरालाको निवास मण्डिखाटार र महामन्त्री गगन थापाको निवास रातोपुलमा पनि भीडभाड छ । यस्तै, पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहमाथि पनि उनको ठमेलस्थित निवासबाट मन्त्रीका लागि धुम्बाराहीमा नाम पठाउन दबाब छ ।

यस्तै, राष्ट्रपतिमा देउवाको रुचाइमा नपरेका अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि केही सांसद मन्त्रीका लागि सिफारिस गरिदिन भन्दै धाइरहेका छन् । यस्तै, पूर्वमहामन्त्री डा शशांक कोइरालालाई पनि केही सांसदले मन्त्री बनाइदिन भन्दै धाइरहेका छन् ।

‘सभापतिदेखि महामन्त्री र पूर्वमहामन्त्रीको निवासमा कोटामा मन्त्री बनाइदिन भन्दै सांसदहरू धाइरहेका छन्, संख्या कम छ, आश्वासन धेरैले पाइरहेका छन्,’ सोमबार देउवा निवासबाट बाहिरिँदै गरेका एक जना केन्द्रीय सदस्यले भने ।

कांग्रेसले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सात मन्त्री र एक राज्यमन्त्री लिने लगभग शीर्ष तहमा सहमति बनिसकेको छ । सो सहमतिनुसार पनि कांग्रेस सभापति देउवाले संस्थापन पक्ष र इतर पक्षलाई समेटेर मन्त्री तय गर्नुपर्ने छ । सिंह र सिटौलालाई पनि मिलाउनुपर्ने चुनौती देउवामाथि छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...