१३ बैशाख २०८१, बिहीबार

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

jjj

बेलारुसमा अलपत्र नौजना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।

उनीहरुलाई शुक्रबार नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई छन् । नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाइन् । उनले विदेशमा पुर्‍याएर अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईंहरुलाई हामी न्याय दिनेछौं, अपराधीलाई कारबाही गर्नेछौं,’ उनले भनिन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ९ महिलालाई ललाईफकाई बेलारुस पुर्‍याएर अलपत्र पारिएपछि स्वदेश फर्काइएको जनाइन् ।

त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको जानकारी दिइन् । उनले नेपालबाट जाँदा एजेन्टहरुले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि ७५ बेलारुसी रुबेल दैनिक पाउने गरेको जनाइन् ।

पीडित ९ महिलालाई विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

    सम्बन्धित समाचार...