१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय जनगणनाको पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?

janaganana

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार नेपालमा साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ छ भने ७२.९४ प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन भएको विवरण आएको छ । त्यस्तै कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन र ३७.७२ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा उपलब्ध रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आजै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै छ । २०७८ साल कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । जसको पूर्ण विवरण आजै प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

पूर्ण विवरणमा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ र रोजगारीको अवस्थालगायतका सबै तथ्याङ्कहरू समेटिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख हेमराज रेग्मीले जानकारी दिए ।

वार्षिक औसत जनसङ्ख्या वृद्धिदर

राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक हुने बारे राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार सबैभन्दा बढी वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसङ्ख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन् ।

जनघनत्व

भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको पाइएको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

देशमा बसोबास गर्ने कति, देशबाहिर कति ?

जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६,६६,९३७ छन् । जसमध्ये व्यक्तिगत परिवार ६६,६०,८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन् । प्रति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।

परिवारको आकार

परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार सङ्ख्या ५४,२७,३०२ रहेको थियो ।

नगरपालिकामा कति, गाउँपालिका बस्ने कति ?

२०७८ को जनगणना अनुसार नगरपालिकाहरूमा बस्ने जनसङ्ख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरूमा बस्ने जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनाअनुसार भने नगरपालिकाहरूमा बस्ने जनसङ्ख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरूमा बस्ने जनसङ्ख्या ३६.८१ प्रतिशत थियो ।

कुन प्रदेशमा कति जनसङ्ख्या ?

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसङ्ख्या रहेको छ । प्रदेशगत रूपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या वाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको ।

जिल्लागत रूपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२०,४१,५८७जना) र सबैभन्दा कम जनसंख्याभएको जिल्ला मनाङ (५,६५८ जना) हो ।

विवाहित कति अविवाहित कति ?

१० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । १० वर्ष वा सो भन्दा बढी उमेरका र कम्तीमा एक पटक विवाह गरेका धेरैजसो व्यक्तिहरू (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन् । १० बर्समुनिको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् ।

अपाङ्गता

कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।

साक्षरता दर

देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

आर्थिक काममा संलग्नता

१० वर्ष वा सो भन्दा बढी उमेरका २,३९,५८,८६८ जना व्यक्तिहरू मध्ये १,४९,८३,३१० (६२.५ प्रतिशत) जनाले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् जसमध्ये ४१.० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।

दश वर्ष वा सो भन्दा बढी उमेरका कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरू मध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी, २१.९ प्रतिशत घरधन्दा, ११.० प्रतिशत वृद्ध अवस्था, ७.५ प्रतिशत पारिवारिक हेरचाह, ७.४ प्रतिशत अन्य, २.५ प्रतिशत अशक्त/बिरामी, २.२ प्रतिशत पेन्सन/आयस्ता र ०.३ प्रतिशत सामाजिक कार्य/स्वयंसेवा को कारणले नगरेको पाइएको छ ।

घरको स्वामित्व र परिवार मुली

संस्थागत परिवार बाहेकका कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरू भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन् ।

कुल ६६,६६,९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवार मुली महिला रहेका छन् । यो २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढी हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २,९१,६४,५७८ रहेको छ । जसमध्ये पुरुषको सङ्ख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको सङ्ख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ ।

२०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या भने २,६४,९४,५०४ थियो ।

    सम्बन्धित समाचार...