११ बैशाख २०८१, मंगलवार

किन हुन्छ सधैं सरुवामा सेटिङ, नियमित सरुवालाई विवादित बनाइँदै

samanya prasasan mantralaya minister

कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक नेतृत्व, सांसद तथा अन्य बिचौलियाको हस्तक्षेप हुन पुग्दा प्रायः अधिकांश सरुवाहरू विवादित हुने गरेका छन् ।

प्रशासनका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा सरुवामा अत्यधिक आर्थिक चलखेल हुने क्रम बढेपछि सरुवा बढी विवादित हुन थालेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद्ले गर्ने सचिव तथा सहसचिवको सरुवा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने अन्तरमन्त्रालय स्तरीय सरुवा र अन्य विकासे मन्त्रालयहरूले गर्ने सरुवा बढी विवादित हुने गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतले गर्ने सरुवामा बढी आर्थिक चलखेल हुने गरेको दाबी सरकारकै उच्च अधिकृतको छ । ‘केही समयअघि केही विभागमा गरिएको महानिर्देशकहरूको सरुवामा आर्थिक चलखेल भएको र पोस्टपेड तथा प्रिपेडका आधारमा सरुवा भएको छ ।’ एक मन्त्रालयका सहसचिवले दाबी गरे । ‘पैसा तिरेर महानिर्देशक भएकाहरूले त्यहाँ गएर पैसा उठाउन भ्रष्टाचार र अनियमितता गर्ने गर्छन्, छानबिन गर्ने निकाय आफैं भ्रष्ट हुँदा छानबिन हुने कुरै भएन ।’ – ती सहसचिवले भने ।

अधिकारीहरूका अनुसार सिंहदरबारभित्र सरुवामा ठुलै सेटिङ हुने गरेको छ । अहिले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवामा पनि विभिन्न खाले सेटिङको प्रयास शुरू भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

देशभरका स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएर आएको झण्डै एक वर्ष पुग्नै लाग्दा जनप्रतिनिधिहरूले सेटिङकै आधारमा प्रमुख प्रशासकीय अधिकृतलाई लैजाने प्रयास थालेको बताइएको छ । जनप्रतिनिधिहरूले आफ्नो पार्टीका केन्द्रीय नेता सांसदमार्फत आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत लैजाने क्रमलाई निरन्तरता दिन थालेका छन् ।

सरुवाकै विषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्नखाले विवाद र आतंकसमेत मच्चिने गरेको छ । सरुवाकै विषयलाई लिएर बिहीबार पनि मन्त्रालयमा विवाद भएको बताइन्छ । विभिन्न दलका नेताहरू भने सेटिङ मिलाउन आफू अनुकूलका कर्मचारी लैजानका लागि सिंहदरबार धाउने क्रम शुरू भएको छ ।

विशेषगरी कांग्रेस, माओवादी केन्द्र र जसपाका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले स्थानीय तहमा आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत लैजान सिंहदरबारमा मन्त्री तथा सचिवमाथि दबाब दिन थालेको मन्त्रालयका एक अधिकृतले बताए ।

ती अधिकृतका अनुसार अहिले विभिन्न जिल्लाबाट विभिन्न पार्टीका सांसदहरू आफ्ना पार्टीका केन्द्रीय नेताहरू बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सचिव, सहसचिवलाई भेट्न आउने क्रम तीव्र पारिरहेका छन् । सरुवामा प्रधानमन्त्री, मन्त्री र अन्य उच्च पदस्थहरूमार्फत समेत निर्देशनात्मक भनसुन हुने गरेको ती अधिकृतको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...