१४ बैशाख २०८१, शुक्रबार

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गरिँदै

nirbachan aayog nepal

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु हुँदैछ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आजदेखि चैत १२ गतेसम्म दल दर्ता आह्वान गरेको छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९।१२।५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम संवत् २०७९ साल चैत ८ गते देखि २०७९ साल चैत १२ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची – १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ ।’

बैशाख १० गते तनहुँ – १, बारा – २ र चितवन – २ मा उपनिर्वाचन हुँदैछ ।

तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको र बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

आयोगले चितवन–२ मा भने यसअघि नै वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । यसर्थ तीनवटा निर्वाचन क्षेत्रमा एकैपटक अर्थात वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगले तयारी गरेको हो ।

नागरिकता विवादका कारण चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको पद खारेज भएपछि उपनिर्वाचन हुने भएको हो ।

    सम्बन्धित समाचार...