८ बैशाख २०८१, शनिबार

आज घोडे जात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

gg23

चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेष रुपमा काठमाडौँ उपत्यकामा मनाइँदैछ ।

यस अवसरमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा घोडेजात्रा समारोह हुँदैछ । उक्त कार्यक्रममा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिनेछ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

उपत्यकामा घोडेजात्रा मनाउने परम्परा मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयबासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीबासीमा छ ।

    सम्बन्धित समाचार...