१४ बैशाख २०८१, शुक्रबार

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले थाले मन्त्रिपरिषद् विस्तारको तयारी

prachanda pm

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएर चैत मसान्तभित्रै भारत भ्रमण गर्ने बताएका छन् ।

सोमबार संसद्‌बाट विश्वासको मत पाए लगत्तै दाहालले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने र चैत्र मसान्त्रभित्र भारत भ्रमण गर्ने जानकारी दिए । गत फागुन पहिलो साता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री दाहाललाई भेटेर भारत भ्रमणको अनौपचारिक निम्तो दिए पनि औपचारिक निम्तो भने आएको छैन ।

प्रधानमन्त्री दाहालले विपक्षी नेकपा एमालेले भनेजस्तै सरकार फेरबदल नहुनेसमेत दाबी गरे । सत्तारुढ दलका अन्य नेताहरूले पनि केही दिनभित्रै सरकारले पूर्णता पाउने प्रतिक्रिया दिए ।

एमालेले भने दाहाल नेतृत्वको सरकार लामो समय नटिक्ने भन्दै गुण र दोषका आधारमा सरकारको विरोध र समर्थन गर्ने जनाएको छ ।

एमालेसहितको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले कांग्रेससँग समीकरण बनेसँगै आज संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएका हुन् ।