४ बैशाख २०८१, मंगलवार

‘उपप्रधानमन्त्री पाएपनि शेखर कोइराला सरकारमा नजाने’, गगनको पनि छैन चाहना

shekhar koirala gagan thapa
फाइल फोटो

नेपाली कांग्रेस यही साता सरकारमा जाने तयारीमा छ । सभापति शेरबहादुर देउवाले भोलि (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि सरकारमा जानेबारे छलफल थालेका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनको लागि कांग्रेसले ह्वीप जारी गर्ने भएको छ । यस्तै, सभापति देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे पनि छलफल गरेका छन् । यसपटक मन्त्री बनाउँदा भूगोल र समावेशितालाई ध्यानमा दिईने उनको भनाई छ ।

तर, सरकारमा पार्टीबाट नेतृत्व गरेर कसलाई पठाउने भन्नेमा देउवा अझै निश्कर्षमा पुगेका छैनन् । उनले उपसभापति पूर्णबहादुर खड्कालाई नै सरकारमा पार्टीको नेतृत्व गरेर जान भनेका थिए । खड्का भने त्यसको लागि तयार छैनन् । उनी आगामी १५औं महाधिवेशनमा पार्टीको नेतृत्व लिनेगरि आन्तरिक गृहकार्यमा छन् । आगामी पाँच वर्ष पार्टी राजनीतिमै सक्रिय हुने र सरकारमा नजाने उनको जवाफ छ । खड्काले सरकारमा सहभागी हुन इच्छा नदेखाएपछि देउवाले प्रकाशमान सिंहलाई आग्रह गरेको बुझिएको छ । सिंह भने सरकारमा सहभागी हुन तयार छन् ।

सिंह पनि भनेजस्तो मन्त्रालय नपाए नजाने मुडमा छन् । देउवाले यसअघि पार्टीका महामन्त्री गगनकुमार थापालाई पनि आग्रह गरेका थिए । थापाले त सार्वजनिक रुपमै आफू मन्त्री नबन्ने बताईसकेका छन् । उता, विमलेन्द्र निधिलाई पनि सरकारमा पार्टीको नेतृत्व गरेर पठाउनेबारे देउवा दम्पत्तिले मन बनाएका छन् ।

शेखर कोइरालाले भने आफू सरकारमा सहभागी नहुने सन्देश देउवाकहाँ पुर्याईसकेका छन् । उनले आफूलाई अहिले उपप्रधानमन्त्रीसहित सरकारमा जान अफर आएपनि त्यसको लागि तयार नभएको सन्देश दिइसकेका छन् ।