१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित

ministar home

नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।

सूचीमा मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा सशस्त्र द्वन्द्वका बेला सरकार र माओवादी दुवै पक्षबाट मारिएका व्यक्तिहरुको नाम समावेश छ । विभिन्न मितिमा भएका घटनामा साहदत प्राप्त गर्ने ८ हजार ४६४ जनाको नाम प्रकाशित भएको हो ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७५ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ।

सरकारले गत सोमबार सहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरेको हो । राजपत्रमा भनिएको छ, ‘नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका व्यक्तिहरुलाई सम्मानस्वरुप नेपाल सरकारले देहायका मितिमा सहिद घोषणा गर्ने निर्णय गरेकोले नेपाल सरकारको मिति फागुन १५ को निर्णयनुसार यो सूचना प्रकाशन गरिएको छ ।’

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

हेर्नुहोस् पूर्ण नामावली :

    सम्बन्धित समाचार...