१३ बैशाख २०८१, बिहीबार

सरकारी निकायमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी

ghus

पछिल्लो घटना १ : २५ मंसिरमा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परे ।

घटना २ : २१ मंसिरमा रुपन्देहीमा सशस्त्र प्रहरी हवल्दार नगेन्द्र सेन २० हजार रुपैयाँ घुससहित पक्राउ परे ।
घटना ३ : १८ फागुनमा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नासु रामकृष्ण पण्डित ९ हजार रुपैयाँ घुससहित पक्राउ परे ।

घटना ४ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार रुपैयाँसहित पक्राउ परे ।
उनीहरू सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरी हिरासतमा लिएको थियो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । अहिले पनि कैयौं सरकारी कार्यालयमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी छ । बिचौलिया र एजेन्ट प्रयोग नगरी सिधै घुस खान खोज्नेहरू बढी अख्तियारको फन्दामा परेको देखिन्छ भने बिचौलिया र एजेन्टमार्फत घुस खानेहरू प्रायः उम्कने गरेका छन् ।

अधिकांश घुस्याहा कर्मचारीले विभिन्न बिचौलिया र एजेन्टमार्फत घुस खाने गरेकाले पनि उनीहरूको कर्तुत बाहिर आउन नसकेको र घुस खानेहरू धेरैले सहजै उन्मुक्ति पाउने गरेको बताइन्छ । फरक फरक कार्यालयका कर्मचारीले घुस खाँदा फरक फरक बिचौलिया र एजेन्टहरू प्रयोग गरेको पाइएको छ ।

अख्तियार स्रोतका अनुसार मालपोत कार्यालयका कर्मचचारीले लेखापढी व्यवसायी तथा अन्य बिचौलियामार्फत घुस खाने गरेका छन् भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीले अडिटरमार्फत घुस खाने गरेका छन् । यस्तै, लाइसेन्स कार्यालयका कर्मचारीले ड्राइभिङ इन्स्टिच्युटण्मार्फत र अन्य बिचौलियामार्फत, यातायाता कार्यालयका कर्मचारीले बस व्यवसायी, ट्रक व्यवसायी तथा अटोमोबाइल लिडरमार्फत सेटिङमा घुस खाने गरेका छन् ।

यसरी कार्यालय र क्षेत्र पिच्छे कर्मचारीको घुस खाने तरिक र पद्धति फरक छ र एजेन्टहरू पनि फरक फरक हुने गरेको देखिन्छ ।

अख्तियारले आकलझुकल पक्राउ गर्ने गरेको भए पनि सरकारी कार्यालयमा यस्ता खालका घुसका डिल तथा कारोबार प्रायः दिनदिनै हुने गरेको सरोकारवालाको अनुभव छ । जनताका काम बढी हुने सरकारी कार्यालयमा नै बढी घुस चल्ने गरेको र घुस लिएका अनगिन्ती घटनामध्ये निकै कम घटना मात्रै अख्तियारको आँखामा पर्ने गरेको बताइन्छ । यद्यपि, पछिल्लो दिनमा घुस खानेलाई अख्तियारले रंगेहात पक्राउ गर्ने क्रम बढेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...