७ बैशाख २०८१, शुक्रबार

आईसीसी विश्वकप लिग टु : पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य

Nepal vs PNG

ओपनर ब्याटर आसिफ शेखको सानदार शतकमा नेपालले पपुवा न्युगिनीलाई विशाल लक्ष्य दिएको छ। बिहिबार टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा १० विकेट गुमाउँदै २९७ रन बनाएको हो ।

नेपालका लागि ओपनर शेखले उत्कृष्ट शतक प्रहार गरे । उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रनको योगदान गरे । यससँगै उनले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । ९० रन बनाएसँगै उनले एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । कप्तान रोहित पौडेल नेपालबाट ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।

शेखलाई सुरुवातमा राम्रो साथ दिएका अर्का ओपनर कुशल भुर्तेल भने ४५ रनमा आउट भए । यस्तै, कप्तान रोहित पौडेलले ३० रन जोड्दा भिम सार्कीले ४४ रन बनाए ।

यस्तै, ज्ञानेन्द्र मल्ल भने आजको खेलमा पनि चल्न सकेनन् । उनी ११ रनमै आउट हुँदा कुशल मल्ल पनि २ रनमै क्याच आउट भए । दिपेन्द्रसिंह ऐरीले ७ रन, आरिफ शेखले १५ रन, करण केसीले ८ रन, सन्दिप लामिछानेले ७ रन साेमपाल कामीले ४ रन बनाए ।

पपुवा न्युगिनीका लागि सेमो कमियाले चार विकेट लिदाँ रिले हेकुरेले तीन विकेट लिए । अले नाओको नाममा एक विकेट रह्यो ।

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

    सम्बन्धित समाचार...