१३ बैशाख २०८१, बिहीबार

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

Election

तेस्रो राष्ट्रपतिका लागि निर्वाचन जारी छ । काठमाडौंकाे नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

राष्ट्रपतिका लागि सतारुढ दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले र अर्का एमालेका उम्मेदवार सुवास नेम्वाङले मतदान गरिसकेका छन् ।

मतदान सुरु भएसँगै मतदानस्थलमा स‌ांसदको उपस्थिति बढ्दाे क्रममा छ । मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अपराह्‍न ३ बजेसम्म मतदान जारी रहने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार चुनाव सकिएलगत्तै आजै मतगणना गरिनेछ । साँझ ७ बजेभित्रै परिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन कार्यालको भनाइ छ ।

मत परिणाम सार्वजनिक भए लगत्तै नयाँ राष्ट्रपतिलाई आजै प्रमाणपत्र प्रदान गरिने निर्वाचन आयोगको तयारी छ ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

    सम्बन्धित समाचार...