७ बैशाख २०८१, शुक्रबार

चीनविरुद्ध प्रचण्डले गद्दारी गरे : ओली

oli

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन्।

सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको भन्दै उनले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउन खोजेको नभई विश्वविद्यालयको नाममा विदेशीहरूको खेल मैदान बनाउन खोजेको बताए ।

भारतले त्यहाँको युरेनियममा ध्यान दिएको टिप्पणी गर्दै उनले भने– ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरू मात्रै बस्छन् त्यहाँ । र, यो एउटा बहुतै खतरनाक कुरा हो ।’

एमाले अध्यक्ष ओलीले भारतलाई खुसी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरूको जाँच गर्नु नपर्ने आदेश दिएको आरोपसमेत लगाए । उनले भने– ‘अहिले सरकारमा बस्नेहरूलाई कुनै लाजसरम छैन ।

हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने, नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन् कि हुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो रु नेपालीका भान्सामा विषादी आएर के भयो ?’ ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो मात्रामा विदेशी हस्तक्षेप बढाउन खोजिएको दाबी गरे । आजको नेपाल समाचारपत्र दैनिकबाट