१३ बैशाख २०८१, बिहीबार

‘गणतन्त्र र लोकतन्त्र जोगाउने दलका उम्मेदवारलाई राष्ट्रपतिमा मतदान गर्छु’

chitra badhur kc
फाइल फोटो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति निर्वाचनमा गणतन्त्र र लोकतन्त्र जोगाउने दलका उम्मेदवारलाई मतदान गर्ने जनाएका छन् ।

राष्ट्रिय जनमोर्चा बागलुङको सातौं जिल्ला सम्मेलनको शुक्रबार उदघाटन गर्दै केसीले कांग्रेस लोकतन्त्र र गणतन्त्र जोगाउन लागेकाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने जानकारी दिए । आफ्नो पार्टीले एमालेसँग सहकार्य गर्नुपर्ने भए पनि त्यसो गर्नु सम्भव नभएको पनि उनले प्रस्ट पारे ।

उनले अरु दलहरुले गणतन्त्रलाई संस्थागत गर्न नसक्ने भएकै कारण राष्ट्रपति नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने बताए । केसीले विदेशीको इसारामा राजनीतिक दलहरु अगाडि बढ्न खोजेकाले देश समस्यामा पर्न थालेको जनाएका छन् ।

उनले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पार्न विदेशीसहित केही तत्त्व लागिरहेको दाबी गरे । ‘राजतन्त्रवादीहरु सक्रिय हुन थालेका छन्,’ केसीले भने, ‘गणतन्त्र खतरामा पार्ने चलखेल सुरु भएको छ ।’ उनले लोकतन्त्र र गणतन्त्रलाई जोगाउन दलहरु एक हुनको विकल्प नभएको जनाए ।

राष्ट्रिय जनमोर्चा बागलुङको सातौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी चार सयजनाको सहभागिता रहनेछन् । शुक्रबारदेखि सुरु भएको जिल्ला सम्मेलन फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित समाचार...