७ बैशाख २०८१, शुक्रबार

लघुवित्त समस्यासँग मिल्दोजुल्दो कथा

tej giri

जिल्ला सदरमुकामबाट धेरै टाढा एउटा सानो गाउँ थियो । त्यस गाउँमा दुई वर्गका मानिसहरू बस्थे । एक ‘क’ वर्ग (आर्थिक र सामाजिक रुपमा सबल) र अर्को ‘ख’ वर्ग (आर्थिक र सामाजिक रुपमा कमजोर) थिए । ‘क’ वर्गका केही व्यक्तिहरूले ‘ख’ वर्गका व्यक्तिहरूलाई कहिल्यै आफू समान व्यवहार गर्दैन थिए । प्रायःजसो थिचोमिचो र हेलाको व्यवहार गर्थे ।

‘ख’ वर्गका मानिसका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरू ‘क’ वर्गकाले जिल्ला सदरमुकामबाट खरिद गरि सामानमा ६० प्रतिशतसम्म नाफा खाएर ‘ख’ वर्गका लाई बेच्थे । जति महङ्गोमा सामान बेचे पनि ‘ख’ वर्गले ‘क’ वर्गका बारेमा कुरा उठाएनन् । किनकी टाढा सहर गएर सामान खरिद गरेर ल्याउन सक्ने आँट र पूँजी उनीहरूसँग थिएन ।

उनीहरूको यो चलन लामो समयदेखि चल्दै आएको थियो । त्यस गाउँको त्यो समस्यालाई बुझि ‘ख’ वर्गलाई सहज होस्, उनीहरूको खर्च कटौती होस् र ‘ख’ वर्ग सधैंभर ‘क’ वर्गको दास भएर बस्नु नपरोस् भन्ने हेतुले कुनै एक व्यापारीले त्यही गाउँमा नै पसल खोल्ने निधो गरे । र ‘ख’ वर्गलाई आफ्नो पसल खोल्ने उद्देश्यबारे बताउँदै आफ्नो पसलबाट सामान खरिद गर्दा हुने फाइदाको बारेमा प्रशिक्षित गराए । त्यसपछि हरेक सामानमा २० प्रतिशतसम्म नाफा राखेर सामान दिने वाचा र सहमति गरि पसल खोले ।

पसल खोलेको सुरुवाती वर्षहरूमा व्यापारीले धेरै समस्या र चुनौतीहरूको सामना गर्नुप¥यो । हरेक चुनौतीसँग लड्दै पसल खोलेपछि सहमति अनुसार नै व्यापारीले सामानहरू बिक्री गर्न थाले । ‘ख’ वर्गले पनि सामान खरिद गर्दा पहिले तिर्ने मूल्यभन्दा ३५–४० प्रतिशतसम्म सस्तोमा सजिलै सामान पाउँदा उनीहरूमा बेग्लै खुसीयाली मिलेको थियो । पहिला ‘क’ वर्गलाई ‘भगवान’ मान्नेले अब ती व्यापारीलाई ‘भगवान’ सरह मान्न थाले । यसबारे ‘क’ वर्गले ठूलै असन्तुष्टि व्यक्त गरे । तर, ‘ख’ वर्गको बाहुल्यता बढि भएको हुँदा ती असन्तुष्टिहरू त्यसै सेलाएर गए ।

यसरी नै दैनिकी चल्दै थियो । व्यापारीलाई सामान बेच्न भ्याइनभ्याइ थियो । उसको पसलमा सामान खरिद गर्नेको मेला नै लाग्ने गथ्र्यो । सामान किन्नेको लाइन नै हुन्थ्यो । ग्राहकलाई छिटोछरितो सेवा दिन पसलेले कर्मचारीहरू पनि थपेका थिए । सेवासँगै नाफा कमाउन पाउँदा व्यापारी हर्षित थिए । व्यापारी भने ग्राहकको परिवर्तित व्यवहारभन्दा पनि आफ्नो फस्टाएको व्यापार र कमाएको नाफामै मख्ख थिए । पसलका कर्मचारीहरूलाई पनि आफ्नो जागिर खानु नै पहिलो प्राथमिकता थियो ।

‘ख’ वर्गका केही नगण्य व्यक्तिहरूमा महत्वकाङ्क्षा बढ्दै गयो । केहीमा निहित स्वार्थहरू बढ्न थाल्यो । स्वार्थ पूर्ति गर्न नपाएपछि व्यापारीलाई नराम्रो देखाउँदै अन्य ग्राहकहरूलाई उचाल्न थाले । नयाँ व्यापारीको खोजीमा लागे । नयाँ व्यापारीहरूलाई गाउँमा पसल खोल्न आह्वान गरे । पहिलो व्यापारीले धेरै व्यापार गरेको र मनग्य नाफा कमाएको सुनेका र देखेकाले अरु व्यापारीहरू पनि त्यही गाउँमा पसल खोल्ने दाउमा नै थिए ।

‘ख’ वर्ग कै पहलमा त्यस गाउँमा नयाँ व्यापारीहरू थप हुँदै गए । एक दुई गर्दै क्रमिक रुपमा व्यापारीहरू बढ्दै गए । हरेक पसलमा नयाँनयाँ सामानहरू आउन थाले । व्यापारी– व्यापारीबीच ग्राहक तानातान हुन थाल्यो । व्यापारीको प्रतिष्पर्धाले हरेक सामानमा १५ प्रतिशतमात्र नाफा खाएर बेच्ने प्रावधान बन्यो । ‘ख’ वर्गले कुनैबेला ६० प्रतिशतसम्म नाफा दिई खरिद गर्ने सामानहरू अहिले सजिलै १५ प्रतिशत मात्र नाफा दिई खरिद गर्न पाएका थिए ।

पसल धेरै भएपछि ‘ख’ वर्गका केही व्यक्तिहरूमा खर्च गर्ने परिपाटी बढ्दै गयो । हरेक पसलबाट पैसा हुँदा दिने नहुँदा उधारोमा सामान खरिद गर्न थाले । ‘उधारो दिन्न’ भन्दा व्यापारीलाई नै थर्काएर, धम्काएर उधारो लिन थाले । टाठाबाठा ग्राहकले सोझासाझा ग्राहकलाई प्रलोभनमा पारी उनीहरूको नामबाट पनि उधारो निकाली आफूले परिचालन गर्न थाले ।

कुनैबेला सादा खाना खाने ग्राहकहरू दिन बिराएर मिठामिठा परिकार बनाएर खान थाले । वर्षमा एकजोर कपडा फेर्नेहरू अहिले महिनैपिच्छे कपडा फेर्ने भए । विलासितातिर बढि आकर्षित हुन थाले । त्यही भीडमा आवश्यकताअनुसार मात्र खर्च गर्ने र सामानको सही ठाउँमा मात्र उपभोग गर्नेहरूको भने जीवन अत्यन्तै सहज भयो । उनीहरूको खर्च कटौती गरि वचतहरू वृद्धि हुँदै गयो र उनीहरू खुशी पनि थिए ।

सुरुमा पसलेले ‘उठि हाल्छ नि’ भन्दै केही नसोच विचारै नगरी सामान उधारोमा दिए । पछि अस्वाभाविक रुपमा उधारो बढ्दै गयो । त्यसपछि पसलेले धेरै उधारो नगर्न, फजुल खर्च नगर्न, विलासितामा नफस्न ग्राहकलाई बुझाउन थाले । तर, धेरै ढिलो भइसकेको थियो । विलासितातर्फ आकर्षित भएका केही व्यक्तिहरू विस्तारै हरेक पसलमा उधारो सामान खरिद गर्दै जाँदा निकै उधारो तिर्न बाँकी भयो । आम्दानीभन्दा खर्च दोब्बर हुन थाल्यो । यसै भीडमा केही राम्रा ग्राहकको पनि परिस्थिति र परिबन्दको कारण उधारो तिर्न सकेनन् । व्यापारीहरूले आफूले नगद तिरेर ल्याएको सामान धेरै उधारो जान थालेपछि उधारो दिन बन्द गरे । उधारो फँसेको पैसा उठाउनका लागि पैसा माग्न थाले ।

पैसा तिर्नको लागि ग्राहकलाई दबाब दिन थाले । व्यापारीले उधारो पैसा माग्न थालेपछि उधारो खाएका मानिसलाई तनाव सुरु हुन थाल्यो । त्यसपछि व्यापारीविरुद्ध नकारात्मक टिका टिप्पणीहरू सुरु हुन थाल्यो । उधारो उठाउने ध्याउन्नमा व्यापारीहरूले पनि कहिलेकाहीँ सामाजिक मर्यादा भुल्न पुगे । व्यापारी र ग्राहकबीचको नङ–मासुको सम्बन्धमा चिसो पस्न सुरु भयो । व्यापारीको विरोध गर्न थाले । ‘व्यापारीका कारण हामी अल्छी भयौं । व्यापारीले गुणस्तरहिन सामान बेचेको कारण हामी रोगी भयौं ।

व्यापारीकै कारण हाम्रो खर्चहरू बढ्न गयो’ भन्दै व्यापारीलाई गाउँबाट नै निकाल्ने विचार गर्न थाले । व्यापारी तथा उसका कर्मचारीमाथि कुटपिट हुन थाल्यो । उनीहरूको पक्षमा पहिले ६० प्रतिशत नाफा खाने ‘क’ वर्गकाहरूको पनि साथ मिल्न थाल्यो । त्यही समाजमा बसेका अन्य भद्रभलाद्मीले पनि २–४ प्रतिशत व्यक्तिहरूको कुरा सुनेर व्यापारीको विरोधमा लाग्न थाले । जसकारण अत्यन्तै उत्साहको साथ सेवा दिइरहेका व्यापारीहरू निराश र कमजोर देखिए । वास्तविकतामा उनीहरू खराब थिएनन् । खराब त समय थियो । व्यापारीले ती व्यक्तिलाई खराब देख्ने र ती व्यक्तिहरूले व्यापारीलाई खराब देख्न थाले । दुईबीचको दुरी बढ्दै गयो ।

विलासिता तथा फजुल खर्चतर्फ आकर्षित २–४ प्रतिशत व्यक्तिका कारण राम्रो व्यवहार गरिरहेका त्यही समाजका अन्य व्यक्तिहरूलाई भने असर पर्न गयो । व्यापारीले पसल बन्द गर्नुपर्ने अवस्था आएपछि उनीहरूले व्यापारीबाट सेवा प्राप्त गर्न सकेनन् ।

राम्रा ग्राहकहरूले सामान खरिद गर्न अतिरिक्त खर्च गरि टाढा सहरसम्म जानुपर्ने अवस्था आयो । कि त ६० प्रतिशतभन्दा बढि नाफा दिई ‘क’ वर्गका व्यक्तिहरूसँग लिनुपर्ने अवस्था सिर्जना भयो । ‘क’ वर्गका व्यक्तिहरूको माग बढ्न थालेपछि उनीहरूले पहिलेभन्दा पनि धेरै नाफा खोज्न थाले । यो कुरा एक कान, दुई कान मैदान हुँदै एक गाउँ,दुई गाउँ हुँदै राज्यभर फैलियो । अन्य स्थानका सिमित व्यक्तिहरूको सङ्गठन नै बन्न थाल्यो । सबैतिर भएका व्यापारीहरूको विरोधमा आन्दोलन सुरु भयो ।

राम्रा ग्राहकहरूले पनि उधारो राख्न थाले र उधारो तिर्न छोडे । यो कुराले राष्ट्रिय पत्रपत्रिका र समाचारमाध्यममा ठूलै स्थान पायो । हुँदाहुँदा ठूला नेता अभियन्ताहरू पनि व्यापारीकै विरोधमा बोल्न थाले । तर कोहीले पनि यसको मुख्य समस्या कहाँ हो भनी बुझेनन् । कति प्रतिशतको आवाज हो भनी खोजेनन् । पसलबाट सेवा लिने सबै ग्राहकको मुद्दा हो कि केही सिमित ग्राहकको मुद्दा हो भनी हेरेनन् । सबैले व्यापारीको नै विरोध गरिरहे…गरिरहे…।

जसको प्रभावले देशको अर्थतन्त्रमा समेत असर पुग्ने अवस्था आयो । यो घटना राष्ट्रिय मुद्दा बन्न पुग्यो । राज्यको उच्च ओहोदामा बसेका व्यक्तिहरूले दुबै पक्षका व्यक्तिलाई छलफलमा बोलाई वास्तविक समस्या पहिचान गरि व्यापारी र ग्राहकका लागि तपसिल अनुसारको नियम बन्यो ।

व्यापारीका लागिः
१. गुणस्तरीय सामान बिक्री गर्नुपर्ने ।
२. ग्राहकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने ।
३. सदस्यलाई जथाभावी सामान बेच्न नपाउने ।
४ .सदस्यको क्षमता पहिचान गरि सामान बिक्री गर्नुपर्ने ।
५. सदस्यको आवश्यकताअनुसार उधारो दिने र उधारो उठाउँदा मनोभावनालाई बुझेर कार्य गर्नुपर्ने ।
६. आम्दानी भएको रकममध्ये केही रकमबाट समाज हितका कार्यहरू पनि गर्नुपर्ने ।

ग्राहकका लागिः
१. आफ्नो क्षमता हेरी आवश्यक सामानमात्र खरिद गर्नुपर्ने ।
२. व्यापारीसँग भएको सम्झौता अनुसारको नीतिनियम पालना गर्नुपर्ने ।
३. उधारो लिएर तिर्नलाई तोकिएको समयमा नै उधारो तिर्नुपर्ने ।
४. सोझासाझा व्यक्तिहरूलाई प्रलोभनमा पारी व्यक्तिगत स्वार्थ पुरा गर्न नपाइने ।
५. समाजमा सबैसँग मिलनसार र सम्मानजनक व्यवहार गर्नुपर्ने ।
६. आफूलाई चित्त नबुझेका कुराहरू सम्बन्धित ठाउँमा राख्नुपर्ने ।

उल्लेखित नियम दुबै पक्षले स्वीकार गरि लागु गर्ने बारेमा सम्झौता भयो । नियम पालना नगर्नेलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने नियम बस्यो । सम्झौता अनुरुप नै दुबै पक्षले कार्य गर्न सुरु गरे । त्यो दिनदेखि विस्तारै व्यापारी र ग्राहकबीचको सम्बन्ध अत्यन्तै सुमधुर हुँदै जान थाल्यो । दुबै पक्षले आफ्नो भूमिका र जिम्मेवारीअनुसार काम गर्न थाले । त्यस दिनदेखि ग्राहक, व्यापारी, समाज र समग्र राज्य नै खुसी भयो । टुट्नु र फुट्नुले पहिले व्यक्तिलाई असर पार्छ । त्यसपछि समाजलाई असर पार्छ । सिङ्गो राज्यलाई नै असर पार्छ । त्यसैले फुटेर होईन्,जुटेर अघि बढ्नु पर्छ । त्यसपछि सबैको सपना पुरा हुन्छ ।

लेखकः तेज गिरी – कलाकार तथा बैंकर

    सम्बन्धित समाचार...