११ बैशाख २०८१, मंगलवार

पुनः विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा इलोन मस्क

EELON

सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्क पुनः विश्वका सबैभन्दा धनी व्यक्तिको उपाधि सुरक्षित गर्न सफल भएका छन् ।

फ्रान्सेली लक्जरी ब्राण्ड एल.भी.एम.एच.का प्रमुख कार्यकारी अधिकृत बर्नार्ड आर्नोल्टलाई तल झार्दै मस्क पुनः पहिलो नम्बरमा उक्लिएको ब्लुमबर्गको अर्बपति सूचीले देखाएको छ । गत वर्षको डिसेम्बरमा मस्कलाई उछिन्दै आर्नोल्ट एक नम्बरमा पुगेका थिए भने मस्क दुई महिनाभन्दा बढी समयसम्म दोस्रो नम्बरमा रहन बाध्य भएका थिए । सोमबार शेयर बजार बन्द हुँदा मस्कको सम्पत्ति आर्नोल्टको भन्दा झण्डै दुई अर्ब डलरले बढी अर्थात् १ सय ८७ अर्ब १० करोड डलर पुगेको थियो । जबकि आर्नोल्टको कुल सम्पत्ति १ सय ८५ अर्ब ३० करोड अमेरिकी डलर रहेको थियो ।

मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयरको मूल्यमा यस वर्ष ७० प्रतिशतले वृदि्ध भएकाले उनको सम्पत्ति यसरी बढेको हो ।

मस्कले विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि पुनः प्राप्ति गरे पनि सम्भवतः विश्व इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्तिको रेकर्ड पनि उनकै नाममा रहेको सीएनएनले टिप्पणी गरेको छ ।

गत वर्षको अन्त्यतिर मस्क २ सय अर्ब डलर गुमाउने अहिलेसम्मकै पहिलो व्यक्ति बन्न पुगे, जब की २०२१ को नोभेम्बरमा करिब ३ सय ४० अर्ब डलर रहेको उनको कुल सम्पत्ति २०२२ को डिसेम्बरमा घटेर १३७ अर्ब डलरमा खुम्चियो ।

कोभिड नाइन्टिनको प्रभाव र ४४ अर्ब डलरमा ट्विटरको विवादास्पद खरिदका विषयलाई लिएर लगानीकर्तामा उत्पन्न आशंकाले अघिल्लो वर्ष टेस्लाको शेयर मूल्य ह्वात्तै घटेको बताइन्छ ।

यी सबैका बीच मस्क भने आफूले गतवर्षमात्रै खरिद गरेको ट्विटर कम्पनीको खर्च कटौतिमै केन्द्रित देखिएका छन् । हालै ट्वीटरले आठौं चरणको कर्मचारी कटौतिको घोषणा गरेको छ । गत अक्टोबर २७मा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेयता मस्कले कम्पनीका करिब आधा अर्थात् ३७ सयभन्दा बढी कर्मचारी कटौती गरिसकेका छन् ।

    सम्बन्धित समाचार...