६ बैशाख २०८१, बिहीबार

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

uml

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले एमाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । पार्टीको उक्त निर्णयबारे जानकारी दिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहने सोच थियो तर हिजोको घटनाले सरकारमा रहन सकिएन ।’

उनले पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएकोसमेत प्रतिक्रिया दिए । उपाध्यक्ष पौडेलले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाए ।

एमालेले देशको पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न बिहान ११ बजेदेखि बैठक बोलाएको थियो । परराष्ट्रमन्त्री विमला राई पौड्यालको आइतबार हुनुपर्ने जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेपछि आक्रोशित बनेको एमालेले आजकै बैठकबाट आफू सरकारबाट बाहिरिने निर्णय गरेको हो । यससँगै सरकारलाई दिएको समर्थन पनि नेकपा एमालेले फिर्ता लिएको छ ।

परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण रोक्ने प्रधानमन्त्री दाहालको प्रयासले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर पारेको बताउँदै उनले भने, ‘जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ ।’

केन्द्रीय सरकार छोड्ने निर्णय गरेको एमालेले प्रदेश सरकारबाट बाहिरिनेबारे भने कुनै निर्णय लिएन ।