१२ बैशाख २०८१, बुधबार

पपुवा न्युगिनीको सामना गर्दै नेपाल

Nepali cricket team
फाइल फोटो

नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दै आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत यूएई सिरिजको सुरुवात गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने एघार बजे दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

विश्वकप लिग टुमा यी दुई टिम तेस्रो पटक आमने-सामने हुन लागेका हुन् । यसअघि शारजहामा भएका दुवै खेल नेपालले जितेको थियो । लिग टुमा सबैभन्दा कमजोर टोली पपुवा न्युगिनीले २८ खेलमध्ये मात्र दुई खेलमा जित हात पारेको छ । तालिकाको पुच्छारमा रहेको पपुवा न्युगिनीले २५ खेल हारेको छ । एक खेल बराबरी भएको थियो ।

पुच्छारभन्दा एक स्थानमाथि रहेको नेपालले क्रमशः सुधार गरिरहेको छ । घरेलु मैदानमा लिग टु च्याम्पियन स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिजमा नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले २८ खेल खेल्दा २६ अंक जोडेको छ । बाँकी ८ मध्ये सात खेल नेपालले जिते शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्नेछ । बाँकीमध्ये पाँच खेल मात्रै जिते पनि नेपालको ओडीआई जोगिनेछ ।

नेपालका मुख्य प्रशिक्षकका रुपमा मोन्टी देसाईको यो दोस्रो सिरिज हो । उनकै नेतृत्वमा घरेलु मैदान टियुमा भएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरी नेपालले लिग टु मा कमब्याक गरेको थियो । सो सिरिजका चार वटै खेलमा नेपालले दुई सयभन्दा माथिको लक्ष्य पूरा गर्नुको साथै उत्कृष्ट बलिङ पनि गरेको थियो ।

नेपालको प्रदर्शन यूएईको पिचको अवस्थाले पनि निर्धारण गर्ने कप्तान रोहित पौडेलले बताएका छन् । नेपाल बाँकी सबै खेल जित्ने लक्ष्यसहित गत शुक्रबार युएई प्रस्थान गरेको थियो । यस्तै नेपालको अन्डर नाइन्टिन टिमले विश्वकप छनोटमा आज हङकङसँग खेल्दैछ । युएइमै हुने यो खेल नेपाली समय अनुसार बिहान पौने एघार बजे सुरु हुनेछ ।

नेपाल जारी प्रसितयोगितामा अपराजित छ । उसले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा कुबेतलाई हराएको थियो । लगातार तेस्रो जीत हात पारे नेपालको विश्वकप छनोट यात्रा अझ सहज हुनेछ ।

    सम्बन्धित समाचार...