८ बैशाख २०८१, शनिबार

संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आज बस्दै

nepal parliament building

संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आज बस्दै छ ।

राष्ट्रियसभाको बैठक आज मध्यान्ह १२:३१ बजे सुरु हुनेछ । सो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् । त्यस्तै राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन पनि आज गरिने छ ।

विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सो सभासमक्ष पेस गर्ने छन् भने राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्याङ्कन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्नेछिन् ।

त्यसै गरी दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा पनि छलफल हुनेछ ।

त्यस्तै प्रतिनिधिसभाको बैठक पनि आज दिउँसो १ बजे बस्दै छ ।

    सम्बन्धित समाचार...