१२ बैशाख २०८१, बुधबार

सुलेमानीको हत्याको बदला लिन ट्रम्पलाई मार्न खोजिरहेका छाैँ – इरान

donald trump qassem soleimani

इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले अझै पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री माइक पोम्पेओलाई मार्न खोजिरहेको बताएका छन् ।

तेहरानले सन् २०२० को जनवरीमा बग्दाद विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोरका विदेशी अपरेसनका प्रमुख सुलेमानीको हत्याको बदला लिने प्रतिबद्धता पटक–पटक गर्दै आएको छ ।

“ट्रम्प, पोम्पेओ, (पूर्व अमेरिकी जनरल केनेथ) म्याकेन्जी र सुलेमानीलाई मार्न आदेश दिने सैन्य कमान्डरहरूलाई मार्न सक्नेमा हामी विश्वस्त छौँ,” गार्ड्सको एयरोस्पेस युनिटका कमान्डर जनरल अमिराली हाजीजादेहले शुक्रबार राति इरानी टेलिभिजनसँगको कुराकानीमा भने।

इराकमा अमेरिकी हितमा भएका कैयौँ आक्रमणको जवाफमा उक्त आक्रमणको आदेश ट्रम्प प्रशासनले दिएको थियो ।

त्यसको केही दिनपछि इरानले इराकमा रहेको अमेरिकी एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । कसैको पनि मृत्यु नभएको बताइए पनि वासिङ्टनले दर्जनौंको मस्तिष्कमा क्षति पुगेको बताएको छ ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका साथै मध्यपूर्वमा इरानको ‘अस्थिर’ भूमिकाको बारेमा बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन्।

इरानले अब दुई हजार किलोमिटरको दूरीमा अमेरिकी जहाजलाई प्रहार गर्न सक्न पनि हाजिजादेहले बताए ।

“हामीले युरोपेलीहरूको सम्मानका लागि दुई हजार किलोमिटरको सीमा निर्धारण गरेका छौं र हामी आशा गर्दछौं कि युरोपेलीहरूले आफूलाई यस सम्मानको योग्य साबित गर्नेछन्,” इरानी जनरलले भने।

शनिबार इरानको सरकारी टेलिभिजनले गार्ड्सले विकास गरेको १,६५० किलोमिटर (१,०२५ माइल) को दूरीमा नयाँ अनावरण गरिएको ‘पावेह क्रुज क्षेप्यास्त्र’ को भिडियो प्रसारण गरेको थियो ।

इरानले सिरियाको रक्षात्मक क्षमतालाई ‘मजबुत’ बनाउन सतहबाट हावामा प्रहार गर्ने मध्यम दूरीको खोर्दाद क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्भावना रहेको इरानको सरकारी प्रसारकले शुक्रबार जनाएको छ ।

    सम्बन्धित समाचार...