१३ बैशाख २०८१, बिहीबार

निकै तितो सम्बन्धबाट गुज्रिएको विगत भुल्ने कसम खाएका दाहाल र ओली किन टिक्दैनन् ?

oli prachanda
फाइल फोटो

राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन । यो बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्धलाई हेरे पुग्छ । छिट्टै मिल्ने र छुट्टिने दाहाल र ओलीबीचको सम्बन्ध अन्य नेताहरुको भन्दा भिन्न छ ।

झापा विद्रोहबाट उदाएका एमाले अध्यक्ष ओली र १० वर्षे सशस्त्र युद्धबाट आएका पुष्पकमल दाहालको सम्बन्ध विगतमा अलि बढी नै तिक्तापूर्ण रह्यो । उनीहरु जब मिल्छन्, आश्चर्यजनक लाग्छ, जब छुट्टिन्छन्, झनै उदेक लाग्छ ।

२०७२ सालमा संविधान जारी भएयता ओली-दाहाल सम्बन्ध ‘प्रेम र सम्बन्धविच्छेद’ को गोलचक्करमा फन्को मारिरहेको छ । २०७२ मा दाहालको समर्थनमा ओली प्रधानमन्त्री बने । तर ९ महिनामै ओलीलाई त्यागेर कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बने । २०७४ को स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेका दाहालले प्रदेश र संघको चुनावमा फेरि ओलीसँगै गठबन्धन बनाए ।

चुनावपछि एमाले–माओवादीबीच एकता भयो । ओली–दाहाल दुवै नेकपाको अध्यक्ष बने । तर, उनीहरु लामो समय टिकेनन् । २०७७ फागुन २३ पछि दुवैको बाटो अलग्गियो ।

नेकपा फुटेपछि झण्डै १७ महिना सदनदेखि सडकसम्म एकअर्कालाई कटाक्ष गरेका दुई नेताले पुस १० मा फेरि सबैलाई चकित बनाउँदै बालकोटको बार्दलीबाट हात हल्लाए। तर, पुसको जाडोमा गाँसिएको गठबन्धन राष्ट्रपति छान्ने बेलामा फेरि टुटेको छ ।

ओलीले ७२ ‌औं जन्मदिन मनाएकै भोलिपल्ट फेरि एकचोटि पुष्पकमल दाहालबाट धोका खाएका छन् । आखिर किन लामो समय टिक्न सक्दैन ओली र दाहालको सम्बन्ध ?

पुस १० गते बालकोटमा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्दै राष्ट्रपति एमालेलाई दिने सहमति भएको भनिए पनि जब कांग्रेसले दाहाललाई विश्वासको मत दियो, सम्बन्धमा खटपट देखिन थाल्यो । राजेन्द्र लिङदेन र रवि लामिछानेसँग गुटबन्दी गरेर ओलीले आफूलाई पेलेको प्रधानमन्त्री दाहालले आफू निकटस्थसँग गुनासो गरेको देखिन्छ ।

पुस २५ गते साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दा प्रधानमन्त्री बस्नुपर्ने सिटमा ओली बसे । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई गृहमन्त्रीमा निरन्तरता दिन ओलीले दाहाललाई दबाब दिए । दाहालले पनि कांग्रेससँग हिमचिम बढाए । ओली र दाहालबीच २० पटकजति भेटवार्ता भए पनि दूरी घटेन । अन्ततः १२ फागुनमा एमाले बाहेकका ८ दल सम्मिलित नयाँ गठबन्धन बन्यो ।

ओली र दाहालबीच जब सम्बन्ध सुधार हुन्छ, दुवैले एक अर्काको प्रशंसा गर्छन् । जब बिग्रिन्छ, एक-अर्काप्रति असहिष्णु देखिन्छन् । परिवर्तित राजनीतिक समीकरणले अब यी दुई नेताबीचको असहिष्णु अभिव्यक्ति फेरि दोहोरिने संकेत गरेको छ ।