४ बैशाख २०८१, मंगलवार

पाँच बजे एउटै निर्णय गर्छौं- गगन थापा

Gagan Thapa
फाइल फोटो

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले सहमतिकै आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने निष्कर्ष निकालेको छ । यसका लागि थप गृहकार्य गरेर आजै बेलुका ५ बजे बस्ने गरी चार दलको बैठक सकिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता थियो । बैठकमा दोस्रो तहका नेताहरु पनि थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘आज बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर लामो छलफल गर्यौं । विभिन्न विकल्पहरुका बारेमा प्रस्तावहरु आए । ती प्रस्तावहरुमाथि छलफल चलिरहेको छ । छलफल एकदमै सकारात्मक छ । हामी एउटा टुंगोमा पुग्छौं ।’

बैठकमा सहभागी दलहरुबाट विभिन्न विकल्प र प्रस्तावहरु आएको जानकारी दिँदै महामन्त्री थापाले अगाडि भने, ‘हामीले एक–अर्काका कुराहरु सुन्यौं । हामी एउटा टुंगोमा चाहिँ छौं कि हामी पाँच बजे एउटै निर्णय गर्छौं । एकै ठाउँ उभिन्छौं । हामी त्यो टुंगोमा छौं । तर, त्यो भन्दा पहिला आफ्नो दलभित्र बसेर छलफल गरेर आउँछौं ।’

राष्ट्रपतिमा कांग्रेसले आफ्नो प्रस्ताव राखेको र अन्य दलबाट पनि प्रस्ताव आएको बताउँदै थापाले तर, छलफल सकारात्मक भएकाले दलभित्र आन्तरिक छलफल गरेपछि साँझ पाँच बजे सहमतिमै उम्मेदवारको टुंगो लगाइने दाबी गरे ।

बैठकपछि थापाले सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया जस्ताको त्यस्तै–

राष्ट्रपतिको चुनावकोसन्दर्भमा नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका दलहरुसँग कहिले छुट्टा छुट्टै, कहिले तीन दल छलफल गरि नै रहेका छौं । अन्य दलहरु पनि एक अर्कासँग छलफल गरि नै राख्नुभएको छ । आज बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर यसबारे लामो छलफल गर्यौं ।

विभिन्न विकल्पहरुका बारेमा प्रस्तावहरु आए । ती प्रस्तावहरुमाथि छलफल चलिरहेको छ । छलफल एकदमै सकारात्मक छ । हामी एउटा टुंगोमा पुग्छौं । तर, आ–आफ्नो दलभित्र छलफल गर्न आवश्यक छ भन्ने हामीलाई पनि लागेको र अन्य दललाई लागेको हुनाले हामी पाँच बजे फेरि बस्छौं । र, यो विषयलाई आज अन्तिम टुंगोमा पुर्याउँछौं ।

हाम्रो पार्टीको उम्मदेवारलाई राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुको सहयोग रहोस् भन्ने प्रस्ताव राखेकै छौं । यसै गरी अन्य दलहरुका तर्फबाट पनि फरक–फरक प्रस्तावहरु आएका छन् । तर, ती प्रस्तावहरु आउँदै गर्दा पनि एउटा समझदारीको वातावरण के छ भने प्रस्तावहरु फरक–फरक आएता पनि हामी एउटै निर्णयमा पुग्छौं । हामी एकै ठाउँ उभिन्छौं भन्ने कुरामा हामी सबै प्रष्ट छौं ।

त्यो प्रष्टताले गर्दाखेरि आएका प्रस्तावहरुलाई सबैले सकारात्मक रुपमा लिनुभएको छ । विभिन्न कोणबाट छलफल चलिरहेको छ । आ–आफ्नो दलमा छलफल गर्छौं, आउँछौं र पाँच बजे केहीबेरमै हामी टुंग्याउँछौं ।

नाममा भन्दा पनि नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई सारेको कुरा एउटा प्रस्ताव भइहाल्यो । नेपाली कांग्रेसभन्दा बाहेक हामीले अहिले छलफल गरिरहेका दलहरु मध्येबाटै पनि अन्य दलले पनि आफ्नो उम्मदेवार राष्ट्रपतिका रुपमा अगाडि सार्ने अथवा अन्य दललाई नेपाली कांग्रेसले किन सहयोग नगर्ने भन्ने उहाँहरुले पनि विषयलाई उठाउनुभएको छ ।

मैले अघि पनि भनें, हामीले आफ्नो प्रस्तावको औचित्य पुष्टि गर्न कोशिस गर्ने नै भयौं । अन्य दलहरुले पनि आफ्नो प्रस्तावको औचित्य पुष्टि गर्ने प्रयास गर्ने नै हुनुभयो । हामीले एक अर्काका कुराहरु सुन्यौं । हामी एउटा टुंगोमा चाहिँ छौं कि हामी पाँच बजे एउटै निर्णय गर्छौं । एकै ठाउँ उभिन्छौं । हामी त्यो टुंगोमा छौं । तर, त्यो भन्दा पहिला आफ्नो दलभित्र बसेर छलफल गरेर आउँछौं ।