
राष्ट्रपति चयन गर्न फागुन २५ गते हुने चुनावका लागि शनिबार मनोनयन दर्ता गरिँदैछ । त्यसैगरी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने छ । राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि हुने चुनावमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८२ जनाले मतदान गर्ने छन् । निर्वाचन आयोगले संघीय सांसद र प्रदेशसभा सदस्यको मतभार भने फरक-फरक कायम गरेको छ । चुनावका लागि राजनीतिक दलका मतदाता र मतभारको अवस्था के छ त ?
राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा अर्थात् संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० जनाले मतदान गर्नेछन् । तर संघीय सांसद र प्रदेशसभा सदस्यको मत भने बराबरी हुने छैन । निर्वाचन आयोगले संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ कायम गरेको हो । ३ सय ३२ संघीय सांसदको जम्मा मतभार २६ हजार २ सय २८ छ भने ५ सय ५० प्रदेशसभा सदस्यको २६ हजार ४ सय हुन्छ । सबै मतदाताको कुल मतभार ५२ हजार ६ सय २८ हुन्छ ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संघीय सांसद र प्रदेशसभा सदस्य गरी २ सय ७३ मतदाता छन् । उनीहरुको मतभार १६ हजार १ सय ४२ छ । त्यस्तै दोस्रो पार्टी नेकपा एमालेको संघ र प्रदेशमा गरी २ सय ५६ जना मतदाता छन् । उनीहरुको मतभार १५ हजार २ सय ३३ छ । संघीय सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको १ सय २९ मतदाता छन् । उनीहरुको मतभार ७ हजार ६ सय ४९ हुन्छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका ४२ जना मतदाताको मतभार २ हजार ५ सय ७४ छ । ३५ जना मतदाता रहेको जसपाको मतभार २ हजार १ सय ४५ हुन्छ ।
राप्रपाका ४२ जना मतदाताको मतभार २ हजार ४ सय ५० छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका १९ जना मतदाताको मतभार १५ सय १ मात्रै छ । २२ मतदाता रहेको जनमत पार्टीको मतभार १ हजार २ सय ४२ छ भने १७ मतदाता रहेको लोसपाको ९ सय ७१ मतभार छ । त्यसैगरी १५ मतदाता रहेको नागरिक उन्मुक्तिको ८ सय १३ मतभार हुँदा ३ जना सांसद भएको जनमोर्चाको मतभार २ सय ६ छ । ४ सांसद भएको नेमकिपाको २ सय २३ मतभार छ । प्रदेशमा मात्रै २ जना सदस्य रहेको हाम्रो नेपाली पार्टीको ९६, एक/एक सदस्य भएका नेपाल संघीय समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको ४८/४८ मतभार छ । संघ र प्रदेशमा गरी १८ जना स्वतन्त्र मतदाता छन् । उनीहरुको मतभार १ हजार ५० छ । त्यसैगरी राष्ट्रपतिबाट मनोनित ३ जना सांसदको मतभार २ सय ३७ छ ।