२४ बैशाख २०८२, बुधबार

सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउन सके स्वाधीनताको रक्षा हुन्छ : महासचिव गुरुङ

dev gurung
फाइल फोटो

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधीनताको रक्षा हुने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा गुरुङले देशको स्वाधीनता रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने जनाए । नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थमा दलहरुबीच आपसी सहमति सहकार्य हुनुपर्नेमा उनको जोड थियो । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवर्द्धन हुने उनको भनाइ छ ।

‘राष्ट्रपतिको सन्दर्भमा सबैको बीचमा आवश्यक सहमतिको आधारमा अगाडि बढौं । संविधानको संरक्षण पनि हुनुपर्‍यो । गणतन्त्रको रक्षा पनि हुनुपर्‍यो । राष्ट्रिय स्वाधीनताको रक्षा पनि हुनुपर्‍यो । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुपर्‍यो,’ उनले भने, ‘त्यसो भयो भने बल्ल एकताको प्रतीक हुनसक्छ । राष्ट्रिय एकताको प्रवर्द्धक बन्न सक्छ ।’

उनले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने पनि जनाए । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुबीचमा निरन्तर छलफल भइरहेको महासचिव गुरुङको भनाइ छ ।

‘दलहरुबीच सहमति र सहकार्य बन्न सकेन, एकले अर्कोलाई निषेध गर्ने, एकले अर्कोलाई समाप्त गर्ने, एकले अर्कोलाई विस्थापित गर्ने, एकले अर्कोलाई भित्तामै पुर्‍याउने खालको अस्वस्थ प्रतिस्पर्धामा जान थाल्यो भने बाहिरी शक्तिकेन्द्रहरु त्यसैमा खेल्छन्,’ उनले भने, ‘राष्ट्रपति सबैको साझा बनाउने प्रयास गरौं । साझा मान्यता स्थापित गर्ने प्रयास गरौं । त्यसो हुनसक्यो भने नै राष्ट्रियताको संवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह हुनेछ ।’

    सम्बन्धित समाचार...