८ बैशाख २०८१, शनिबार

आयात–निर्यात दुबैमा कमी, सात महिनामा व्यापार घाट ८ खर्ब

tatopani bhansar

आयातमा नगद मार्जिन हटाउँदा पनि नबढेपछि सात महिनामा १९ दशमलव ९० प्रतिशतले आयात घटेको छ । निर्यातमा पनि २९ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ ।

सरकारले विलासिता वस्तुको आयात कडाइमा प्रतिबन्ध लगाएर फुकुवा गर्दा पनि आयात नबढेको हो । यद्यपि, गत साउनदेखि माघसम्मको अवधिमा सबैभन्दा बढी आयात माघ महिनामा भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ साउनदेखि माघसम्ममा ११ खर्ब ४७ खर्ब रुपैयाँबराबरको आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँबराबरको मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ ।

गत आवको साउनदेखि माघसम्ममा १ खर्ब ३१ अर्ब रुपैयाँबराबरको सामान निर्यात भएकामा चालू आवको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँबराबरको मात्र सामान निर्यात भएको छ ।

आयात र निर्यात दुवै घट्दा गत वर्षको तुलनामा व्यापार घाटा पनि १८ प्रतिशतले घटेको छ । गत आव २०७८/७९ को साउनदेखि माघसम्ममा १० खर्ब १५ अर्ब रुपैयाँबराबरको व्यापार घाटा भएकामा चालू आवको सोही अवधिमा ८ खर्ब २५ अर्ब रुपैयाँ घाटा भएको छ ।

भन्सार विभागको तथ्यांकनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत छ भने आयातको हिस्सा ९ दशमलव २३ प्रतिशत छ ।

नेपालले १ सय ५२ भन्दाबढी मुलुकसँग वैदेशिक व्यापार गरिरहेको छ । जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतसँग ५ खर्ब ७० अर्ब ९६ करोडको आयात र ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँको निर्यात भएको छ । भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ भएको छ । यसैगरी, चीनसँग १ खर्ब २५ अर्ब ५ करोडको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ । दोस्रो ठूलो व्यापार घाटा रहेको चीनसँग १ खर्ब २४ अर्बको व्यापार घाटा रहेको छ ।

व्यापार घाटा रहेको तेस्रो मुलुकमा इन्डोनेसिया रहेको छ । इन्डोनेसियाबाट २६ अर्ब ७२ करोडको सामान ल्याउँदा नेपालबाट १० करोडको मात्र सामान पठाउन सकिएको छ । जसले गर्दा इन्डोनेसियासँग २६ अर्ब ६२ करोडको व्यापार घाटा रहेको छ ।

युनाइटेड अरब इमिरेट्ससँग पनि २० अर्बको व्यापार घाटा रहेको छ । नेपालको व्यापार घाटा अधिक रहेका मुलुकहरूमा क्रमशः अर्जेन्टिना, मलेसिया, युक्रेन, कतार, अस्ट्रेलिया, ओमान, साउदी अरेबिया, जोर्डन, थाइल्यान्ड, भियतनाम, बेल्जियम, कोरिया, ब्राजिल, बंगलादेशलगायत छन् ।

व्यापार नाफा भने सबैभन्दा वढी अमेरिकासँग रहेको छ । अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भई व्यापार नाफामा रहनपुगेको हो । अमेरिकासँग ८ अर्ब ७६ करोडको व्यापार नाफा भएको देखिएको छ ।

व्यापार नाफा भएका अन्य मुलुकमा अल्जेरिया, कम्बोडिया, नर्बे, रोमानिया, उरुग्वे, अफगानिस्तान, लातभियालगायतका छन् ।

भन्सार विभागको तथ्यांकनुसार सबैभन्दा बढी व्यापार घाटा हुनुमा पेट्रोलियम पदार्थको आयात रहेको छ । सात महिनामा नेपालले झन्डै २ खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यस अवधिमा १ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

सात महिनाको अवधिमा नेपालले डिजेल मात्र ८४ अर्ब ६१ करोडबराबरको आयात गरेको छ । त्यस्तै, ३८ अर्ब ७३ करोडको पेट्रोल, ३३ अर्ब ३४ करोडको खाना पकाउने (एलपी) ग्यास आयात गरेको छ ।

यसनुसार नेपालको कुल निर्यातले अब पेट्रोलियम पदार्थको आयात नै धान्न नसक्ने अवस्था आएको छ । यस अवधिमा ७६ अर्ब २६ करोड रुपैयाँको आइरन तथा स्टील आयात भएको छ । विद्युतीय उपकरण र पार्टपूर्जाको आयात ५८ अर्ब २३ करोड रुपैयाँबराबरको रहेको छ । तरकारीजन्य वस्तु मात्र १९ अर्ब ६६ करोड रुपैयाँको आएको छ ।

चालू आवको सात महिनामा २ हजार ९ वटा विद्युतीय कार (ईभी) नेपाल भित्रिएका छन् । तथ्यांकनुसार साउनदेखि माघसम्ममा ५ अर्ब ८२ करोड ८६ लाख १३ हजार रुपैयाँबराबरका ती विद्युतीय कार आयात भएको हुन् ।

सरकारले चालू आवको बजेटमार्फत सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय गाडी आयातमा १० प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरेसँगै यस्ता गाडीको आयात बढेको हो ।

हाल नेपालमा विद्युतीय कार भारत, चीन, दक्षिण कोरिया, इन्डोनेसिया, अमेरिकाबाट आयात हुँदै आएका छन् । भारतबाट सबैभन्दा धेरै १ हजार ४ सय ३५ वटा, चीनबाट २ सय ९४ वटा, कोरियाबाट २ सय २७ वटा, अमेरिकाबाट चारवटा र इन्डोनेसियाबाट तीनवटा विद्युतीय कार आयात भएका छन् । राजधानी दैनिकमा प्रकाशित समाचार अनुसार सबैभन्दा बढी मूल्यका आयात भएका पदार्थमा क्रमशः डिजेल, पेट्रोल, ग्यास, आइरन, भटमासको तेल, पाल्म तेल, धान, स्टील, सुन, स्मार्टफोन, मकैलगायत रहेका छन् ।

यस अवधिमा नेपालले ८ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात गरेको छ । नेपालबाट निर्यात भएका सामग्रीहरूमा रिफाइन पाल्म तेल, कार्पेट, अलैंची, चियालगायतका छन् ।

    सम्बन्धित समाचार...