५ जेष्ठ २०८१, शनिबार

बिचौलिया मोटाउने, किसान दुब्लाउने !

rice
फाइल फोटो

सरकारले तोकेको समर्थन मूल्य भन्दा कममा किसानले धान बेचेपछि चामलको भाउ बढाउन व्यापारीहरू धानको मूल्य बढाइरहेका छन् । पाँच किलोमिटरको दूरीमा किलोको चार रुपैयाँ पर्ने बन्दागोभी विराटनगरमा २० रुपैयाँ पर्छ । राज्यले बजार नियमन गर्न नसक्दा किसानले लागतअनुसारको मूल्य पाएका छैनन् भने नाफाजति बिचौलियाको हातमा परेको छ ।

गत कात्तिक १६ गते सरकारले मोटा धानको न्यूनतम मूल्य प्रति क्विन्टल दुई हजार नौ सय ६७ रूपैयाँ तोक्यो । तर व्यापारीले भने किसानसँग औसत दुई हजार चार सय ३२ रूपैयाामा धान किने । साना किसानले गर्जो टार्न धान बेचिसेकेको अवस्थामा अहिले भने मोटा धानको मूल्य दुई हजार सात सय रूपैयाँ कटेको छ ।

तीन सातायता धानको मूल्य झण्डै २० प्रतिशत बढिसकेको छ । त्यस्तै विराटनगर आसपासका खेतमा बन्दागोभी किलोको चार, काउली १०, टमाटर ११ र सिमी २० रूपैयाँ छ । तर विराटनगरमा भने बन्दा २०, काउली/टमाटर ४०, सिमी ८० रूपैयाँ किलो पर्छ । किसानले पाउने र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीच चार गुणाभन्दा बढी फरक छ ।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने रकमबीच किन धेरै फरक छ भन्ने प्रश्नको जवाफ व्यवसायीले दिँदैनन् । खुला सीमा भएका कारण भारतीय बजारको मूल्यले नेपालको पनि प्रभावित हुने उनीहरूको तर्क छ ।

नेपालमा कृषि उपज भण्डारण र बजारीकरणको संयन्त्र छैन। सरकार बजार नियमन गर्नु त परै जाओस् धान र उखुमा आफैँले तोकेको समर्थन मूल्य कार्यान्वयन गराउनसमेत चुकेको छ ।

कृषि उपजमा बिचौलिया हाबी हुँदा किसानले लागतअनुसारको मूल्य पाएका छैनन् भने उपभोक्ताले चर्को मूल्य चुकाउनु परेको छ । यो बेथिति हटाउनेतर्फ राज्य गम्भीर नबन्दा किसान र उपभोक्ता दुब्लाउने तर बिचौलिया मोटाउने अवस्था सिर्जना भएको छ ।

    सम्बन्धित समाचार...